आमिर खानले गरे तेस्रोपटक विवाह, छोराछोरी पनि सहभागी

काठमाडौं । बलिउडका ‘मिस्टर पर्फेक्सनिस्ट’ आमिर खान पुनः वैवाहिक बन्धनमा बाँधिएका छन् ।

६१ वर्ष पुगेका अभिनेता खानले आफ्नी प्रेमिका गौरी स्प्रेटसँग मुम्बईको बान्द्रास्थित आफ्नै घरमा एक निजी समारोहबीच विवाह गरेका हुन् ।

 लामो समयदेखिको प्रेम सम्बन्धमा रहेको यो जोडीले आइतबार परिवार र केही नजिकका साथीहरूको उपस्थितिमा कागजी विवाह गरेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

विवाह समारोहमा आमिरकी छोरी आइरा खान र छोरा जुनैद खानलाई उनको निवासमा पुगेको देखिएको थियो । यस्तै निर्देशक आशुतोष गोवारिकर र अभिनेत्री एली अवराम पनि पुगेका थिए ।

आमिरले सन् २०२५ मा आफ्नो ६० औं जन्मदिनको विशेष अवसर पारेर गौरी स्प्राटसँगको सम्बन्धलाई सार्वजनिक गरेका थिए । त्यसअघि उनीहरूको सम्बन्धबारे धेरै चर्चा भए पनि आमिर मौन रहँदै आएका थिए । सम्बन्ध खुलाएपछि आमिरले विभिन्न समयमा गौरीले आफ्नो जीवनमा ल्याएको सकारात्मक परिवर्तन, शान्ति र स्थिरताको प्रशंसा गर्दै आएका छन् ।

गौरी स्प्राट बेंगलुरुकी एक सफल उद्यमी तथा फेसन-ब्यूटी क्षेत्रकी स्थापित व्यवसायी हुन् । जीवनशैली र सैलुन उद्योगमा लामो अनुभव सँगालेकी गौरी हाल मुम्बईमा बसोबास गर्दै आएकी छन् । उनी एक छोराकी आमा पनि हुन् ।

आमिर र गौरीको चिनजान नयाँ भने होइन । उनीहरूको पहिलो भेट करिब २५ वर्षअघि भएको थियो । वर्षौंपछि पुनः भेट हुँदा उनीहरूको मित्रता बिस्तारै प्रेममा परिणत भएको बताइन्छ । आमिर र गौरी पछिल्लो एक वर्षभन्दा बढी समयदेखि परिवारजस्तै साथमा बस्दै आएका छन् ।

आमिरले पहिलो विवाह सन् १९८६ मा रीना दत्तासँग गरेका थिए, जोसँग सन् २००२ मा सम्बन्ध विच्छेद भयो ।

त्यसपछि आमिरले सन् २००५ मा निर्देशक किरण रावसँग दोस्रो विवाह गरे । किरणसँगको १६ वर्ष लामो वैवाहिक सम्बन्ध सन् २०२१ मा अन्त्य भएको थियो । डिभोर्स भए पनि आमिर र किरणबीच सुमधुर सम्बन्ध छ । उनीहरू ‘आमिर खान प्रोडक्सन’ र ‘पानी फाउन्डेसन’ मा सँगै काम गर्छन् । किरणको ‘लापता लेडिज’ पनि दुवैको प्रोडक्सन हाउसले मिलेर निर्माण गरेका थिए ।

दुई पटक सम्बन्धविच्छेद भए पनि आमिरले आफ्ना दुवै पूर्वपत्नीहरूसँग अत्यन्तै सम्मानपूर्ण र सौहार्दपूर्ण सम्बन्ध कायम राखेका छन् । उनीहरू सधैं पारिवारिक उत्सवहरूमा सँगै देखिने गर्छन् ।