‘अक्षरा’को पोष्टरमा सुशील र न्यान्सीको दुरी

काठमाडौं । चलचित्र ‘अक्षरा’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचारप्रसारलाई तीव्र पार्ने उद्देश्यले पनि नयाँ पोस्टर रिलिज गरेको हो ।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारद्वय सुशील सिटौला र न्यान्सी खड्कालाई शीर्ष भूमिकामा प्रस्तुत गरिएको छ । पोस्टरको पृष्ठभूमि र दुवै कलाकारको गम्भीर भावले चलचित्र सामाजिक वा पारिवारिक कथावस्तुमा आधारित रहेको बलियो संकेत गर्छ ।

पोस्टरमा दुवै कलाकार विपरीत दिशातिर फर्केर हेरिरहेका छन्, जसले उनीहरू प्रेमीप्रेमिका हुनसक्ने अनुमान लगाउन सकिन्छ । उनीहरूको अनुहारको भावले सम्बन्धमा आएको खटपट, रिस, वैचारिक दूरी, असमझदारी वा परिस्थितिले सिर्जना गरेको बाध्यता र बिछोडको मर्मलाई व्यक्त गरेको छ ।

यस चलचित्रमा सुशील र न्यान्सीका साथै सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको मुख्य भूमिका रहेको छ।

चलचित्रलाई विनय राज पौडेलले निर्देशन गरेका हुन् । उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने हुन् ।

चलचित्रको मूल कथा निर्माता उग्रसेन आफैँले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलको संयुक्त लेखनमा तयार भएको हो । भदौ २६ गतेबाट यो चलचित्र प्रदर्शनमा आउनेछ ।