निखिल उप्रेती पनि दशैं लक्षित रणनीतिक कदममा
काठमाडौं । अभिनेता निखिल उप्रेतीको निर्देशनमा निर्माण भएको चलचित्र ‘आचार्य’को प्रदर्शनलाई लिएर लामो समयदेखि अन्योल हुँदै आइरहेको थियो । अब यो अन्यौलता चिरीएको छ । निर्माण पक्षले चलचित्रको आधिकारिक प्रदर्शन मिति तय गर्दै यसलाई आगामी असोज ९ गते सार्वजनिक गर्ने घोषणा गरेको छ ।
यसअघि यो चलचित्र साउन २९ गते प्रदर्शन हुने चर्चा चलेको थियो । तर, प्राविधिक कार्यमा समय लागेको र रणनीतिक हिसाबले दशैंको पूर्वसन्ध्या उपयुक्त देखिएपछि निर्माण टोलीले असोज रोजेको छ ।
चलचित्र असोज ९ मा रिलिज हुनुलाई फिल्मी बजारमा निखिलको एउटा ठूलो ‘मास्टरस्ट्रोक’का रूपमा हेरिएको छ । चलचित्र प्रदर्शन भएको तीन हप्तापछि नै नेपालीहरूको महान् चाड विजयादशमी (दशैं) सुरु हुन्छ । यदि सुरुवाती हप्ताहरूमा फिल्मले दर्शकको सकारात्मक प्रतिक्रिया (वर्ड अफ माउथ) पाउन सफल भयो भने, दशैंको लामो सार्वजनिक बिदामा यसले बक्स अफिसमा उच्च व्यापार गर्ने निश्चित छ । फिल्मलाई हलमा लामो समय टिकाउने र बिदाको माहोल क्यास गर्ने उद्देश्यले नै यो मिति तय गरिएको फिल्म निकट स्रोतले पुष्टि गरेको छ ।
फिल्मको काममा गुणस्तर कायम राख्न निखिलले कुनै सम्झौता नगरेको बुझिएको छ । विशेषगरी फिल्मको ग्राफिक्स र ब्याकग्राउन्ड स्कोरको काम बाँकी रहेकाले निर्धारित समयमा फिल्म तयार हुन सकेन । पछिल्लो जानकारी अनुसार, निखिल यतिबेला काठमाडौंका विभिन्न स्थानमा फिल्मका केही महत्वपूर्ण ‘प्याच वर्क’ र दृश्यहरू खिचिरहेका छन् । फिल्मलाई निकै ठूलो स्केल र भव्य क्यानभासमा निर्माण गरिएको बताइएको छ ।
‘आचार्य’ मार्फत निखिल उप्रेती करिब ११ वर्षपछि निर्देशनको कुर्सीमा फर्किएका हुन् । उनले पछिल्लो पटक सन् २०१५ मा फिल्म ‘भैरव’ निर्देशन गरेका थिए, जसले बक्स अफिसमा सुखद व्यापार गरेको थियो । त्यसयता अभिनयमा सक्रिय रहे पनि निर्देशनबाट टाढा रहेका निखिलको यो कमब्याकलाई लिएर उनका फ्यान र फिल्म वृत्तमा ठूलो चासो छ ।
यस फिल्मलाई निखिलकी जीवनसंगिनी तथा चर्चित अभिनेत्री सञ्चिता लुईंटेलले निर्माण गरेकी हुन् । फिल्ममा निखिल उप्रेती स्वयंको मुख्य भूमिका छ भने उनलाई प्रमोद अग्रहरि, कामेश्वर चौरासिया र पूर्णिका सिंजापति जस्ता प्रभावशाली कलाकारहरूले साथ दिएका छन् । फिल्ममा भारतीय फिल्म उद्योगका नाम चलेका कलाकार दीपराज राणाको समेत महत्वपूर्ण भूमिका रहेको छ, जसले फिल्मलाई अन्तर्राष्ट्रिय आकर्षण समेत थपेको छ ।
विगतका एक्सन फिल्मभन्दा केही भिन्न र परिपक्व कथावस्तुमा आधारित भनिएको ‘आचार्य’ले नेपाली फिल्म क्षेत्रमा नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ । दशैंको चहलपहलसँगै प्रदर्शनमा आउने यो फिल्मले निखिल उप्रेतीको निर्देशकीय साखलाई कत्तिको उचाल्नेछ, त्यो भने असोज ९ पछि नै थाहा हुनेछ ।


