‘आचार्य’को फर्स्टलुक सार्वजनिक, रहस्यमय र शक्तिशाली अवतारमा निखिल उप्रेती

काठमाडौं । अभिनेता निखिल उप्रेतीको निर्देशनमा बनेको नयाँ चलचित्र ‘आचार्य’लाई लिएर लामो समयदेखि सिनेवृत्तमा चर्चा हुँदै आइरहेको छ । झण्डै एक दशकपछि पुनः निर्देशनको बागडोर सम्हाल्दै पर्दामा फर्किएका निखिलको कमब्याक यस सिनेमाको बिहीबार फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

सन् २०१५ मा प्रदर्शनमा आएको ‘भैरव’ पछि निखिलले कुनै पनि सिनेमा निर्देशन गरेका थिएनन् । करिब १० वर्षको लामो अन्तरालपछि ‘आचार्य’ मार्फत उनी निर्देशकको रूपमा पुनः उत्रिएका हुन् । यस चलचित्रमा उनी मुख्य भूमिकामा मात्र छैनन्, सिनेमाको लेखन पनि उनले स्वयंले गरेका हुन् ।

निखिललाई मात्र प्रस्तुत गरिएको फर्स्टलुक भिडियोमा उनी एक ‘शक्तिशाली र रहस्यमय’ पात्रको रूपमा प्रस्तुत गछन् । पहाडी कन्दरा र घना जंगलको पृष्ठभूमिमा खिचिएका दृश्यहरूले चलचित्र ‘आचार्य’को भव्यता दर्शाउँछन् ।

भिडियोमा निखिलको लुक्सले सबैको ध्यान खिचेको छ । उनको हातमा बसेको बाज, पिठ्युँमा खोपिएको विशेष ट्याटू र उनको गम्भीर भावभंगीले फिल्ममा केवल एक्सन मात्र नभई एउटा गहिरो र रहस्यमय कथा लुकेको संकेत गर्छ ।

पार्श्व संगीत र सिनेमाटोग्राफीले चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरको एक्सन सिनेमाको झल्को दिएको छ ।

निर्माण पक्षका अनुसार यो सिनेमा आगामी असोज ९ गते (सेप्टेम्बर २५) देखि प्रदर्शनमा आउनेछ । यसअघि छायांकन सकिएको करिब ५ महिना बितिसक्दा पनि निर्माण पक्षले आधिकारिक मिति तोक्न नसक्दा दर्शकमा कौतुहलता रहेको थियो ।

निखिल उप्रेती प्रोडक्सन प्रालिको प्रस्तुति रहेको यस चलचित्रमा निखिलका साथै पूर्णिका सिंजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया  निर्मल शर्मा, रक्षा गौतम लगायत कलाकारहरूको अभिनय छ । विशेष आकर्षणको रूपमा भारतीय कलाकार दीपराज राणा पनि देखिनेछन् ।

 ३ करोडमाथिको लगानीमा निर्माण भएको चलचित्रमा कृष्ण भट्टराईको लगानी रहेको छ ।

मनु विश्वकर्मा, नवराज कृष्ण थापा र सौरभ लामाको छायांकन रहेको चलचित्रमा बन्दे प्रसादले सम्पादन, शुक्रराज शाहको द्वन्द्व निर्देशन, युग भुसालको संगीत निर्देशन, राजेन्द्र मोक्तानको रंग संयोजन, कालाचरणको पार्श्व ध्वनी (ब्याकग्राउन्ड स्कोर) तथा किरण थापाको कोरियोग्राफी छ ।

दशैंको पूर्वसन्ध्यामा प्रदर्शन हुन लागेको ‘आचार्य’ ले नेपाली बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । निखिल उप्रेतीका फ्यानहरू उनलाई पुरानै एक्सन अवतारमा तर नयाँ शैलीको निर्देशनमा हेर्न आतुर छन् ।