निखिलको ‘आचार्य’को फर्स्टलुक भिडियोको किन भइरहेको छ आलोचना ?

काठमाडौं । अभिनेता निखिल उप्रेती करिब एक दशकपछि पुनः निर्देशनको बागडोर सम्हाल्दै चलचित्र उद्योगमा फर्किएका छन् । उनले बिहीबार ‘आचार्य’को फर्स्टलुक भिडियो सार्वजनिक गरे ।

भिडियोमा निखिल र उनको एक्सन छ । यसबाहेक भिडियोमा अरु केही र कोही देखिँदैन । एक्सनमा उनले गज्जब मेहनत गरेको देखिन्छ ।

तर, यतिबेला त्यही एक्सन सिनका लागि भएको भीएफएक्सको आलोचना भइरहेको छ । उनले पेस्तोलबाट गोली हानेर आगो लगाएको गाडी चिट गरेको जस्तै प्रस्टै देखिन्छ । गाडीमा आगो लागेपछि अगाडि पल्टिँदा गाडीको अगाडिको भाग मात्रै देखिन्छ । पछाडिको भाग देखिँदैन ।

यस्तै गाडीको टायर पनि गुडिरहेको गाडीको जस्तो देखिँदैन । भर्खर तेलमा चोबेर निकालेको जस्तो देखिने टायरले भीएफएक्समा कमजोरी भएको प्रस्टै देखाउँछ । गुडिरहेको गाडीको टायर रियलमा जस्तो हुन्छ, त्यस्तो टायर लेखिँदैन । यसले भीएफएक्समा हतार गरेको वा प्रोपर काम नभएको देखिन्छ, यही पक्षलाई लिएर यतिबेला यो फर्स्ट लुकको आलोचना भइरहेको छ ।

यो कमजोरीलाई सच्चयाउँदै आलोचजाबाट मुक्त हुन भने निखिलसँग समय छ । किनकि यो चलचित्र असोज ९ गते मात्रै प्रदर्शनमा आउँदैछ ।

निखिल करिब १० वर्षको लामो अन्तरालपछि ‘आचार्य’ मार्फत निर्देशकको रूपमा पुनः उत्रिएका हुन् । यस चलचित्रमा उनी मुख्य भूमिकामा मात्र छैनन्, सिनेमाको लेखन पनि उनले स्वयंले गरेका छन् ।

निखिल उप्रेती प्रोडक्सन प्रालिको प्रस्तुति रहेको यस चलचित्रमा निखिलका साथै पूर्णिका सिंजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया निर्मल शर्मा, रक्षा गौतम लगायत कलाकारहरूको अभिनय छ । विशेष आकर्षणको रूपमा भारतीय कलाकार दीपराज राणा पनि देखिनेछन् ।

तीन करोडमाथिको लगानीमा निर्माण भएको चलचित्रमा कृष्ण भट्टराईको लगानी रहेको छ ।

मनु विश्वकर्मा, नवराज कृष्ण थापा र सौरभ लामाको छायांकन रहेको चलचित्रमा बन्दे प्रसादले सम्पादन, शुक्रराज शाहको द्वन्द्व निर्देशन, युग भुसालको संगीत निर्देशन, राजेन्द्र मोक्तानको रंग संयोजन, कालाचरणको पाश्र्व ध्वनी (ब्याकग्राउन्ड स्कोर) तथा किरण थापाको कोरियोग्राफी छ ।

दशैंको पूर्वसन्ध्यामा प्रदर्शन हुन लागेको ‘आचार्य’ले नेपाली बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।