‘मास्टर्नी’को गीत सार्वजनिक, उद्देश्य– भदौ ५ गतेको रिलिज डेट जानकारी दिनु

काठमाडौं । चलचित्र ‘मास्टर्नी’को गीत सार्वजनिक भएको छ । दुर्गेश थापाको शब्द तथा संगीत रहेको गीतमा दुर्गेश र बबिना किराँतीको स्वर रहेको छ ।

गीत कथा भन्दा पनि चलचित्रको प्रोमोसनका लागि तयार गरिएको देखिन्छ । गीतको उद्देश्य चलचित्र ‘मास्टर्नी’ भदौ ५ गते प्रदर्शनको तयारीमा छ भनेर दर्शकलाई जानकारी दिनु रहेको देखिन्छ ।

गीतको भिडियोमा प्रियंका कार्की, दुर्गेश थापा, आयुशमान देशराज जोशी र आर्यन सिक्देल रहेका छन् ।

‘क्राइम थ्रिलर मर्डर मिस्ट्री’ जनरामा निर्माण भएको चलचित्रमा प्रियंकासहित सरोज खनाल, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुपविक्रम शाही, गौरी मल्ल, सिम्रन खड्का, रक्षा थापा, विशाल पहारी, दिनेश काफ्लेले अभिनय गरेका छन् ।

प्रियंका स्वयमको कथा रहेको फिल्ममा सान बस्न्यातको पटकथा छ ।

भारतीय निर्देशक सुभेन्दु घोषले निर्देशन गरेको चलचित्रमा प्रियंका कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की निर्माताको रूपमा छन् ।

क्याबिनेट शार्क ट्यांक नेपालका शार्कसहित अग्नि समूहका प्रमुख हुन् । यो फिल्मबाट अग्नि समूहले निर्माणमा हात हालेको छ ।

‘मास्टर्नी’को कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा छिन् ।