थ्रिलर र रहस्यको प्लट सहित ‘मास्टर्नी’को ट्रेलर सार्वजनिक
काठमाडौं । सुवेन्दु घोषको निर्देशनमा तयार भएको चलचित्र ‘मास्टर्नी’को ट्रेलर सार्वजनिक भएको छ ।
चलचित्र आयंका फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको निर्माण टिमले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर रिलिज गरेको हो।
क्राइम थ्रिलर र मर्डर मिस्ट्री विधामा केन्द्रित रहेको सार्वजनिक ट्रेलरले मुख्य रूपमा एउटी आमा र छोरीबीचको प्रगाढ भावनात्मक सम्बन्धलाई चित्रण गरेको छ ।
समाजमा छोरीको सुरक्षाका लागि एउटी आमा कुन हदसम्म जान सक्छिन् र उनले सामना गर्नुपर्ने चुनौतीहरू के-के हुन सक्छन् भन्ने कुरालाई ट्रेलरमा प्रस्तुत गरिएको छ । चलचित्रलाई ‘क्राइम थ्रिलर’ र ‘फ्यामिली ड्रामा’को समिश्रणका रूपमा हेरिएको छ, जहाँ रहस्य र संवेदना सँगसँगै हिँडेका छन् ।
ट्रेलरको सुरुदेखि अन्त्यसम्म एउटा रहस्यमयी वातावरण सिर्जना गरिएको छ । हराएकी छोरीको खोजी, प्रहरी अनुसन्धान, र त्यस क्रममा खुल्दै जाने रहस्यहरूले चलचित्रलाई पूर्ण रूपमा ‘क्राइम थ्रिलर’ बनाएको बुझ्न सकिन्छ । ट्रेलरमा देखाइएका कतिपय दृश्यहरूले दर्शकलाई अन्तिमसम्म कुन पात्र सही हो र कुन गलत भन्ने द्विविधामा राख्ने देखिन्छ ।
चलचित्रको मुख्य भूमिकामा प्रियंका कार्की जोशी र सिम्रन खड्का देखिएका छन् । साथमा आर्यन सिग्देल, अनुपविक्रम शाही, प्रमोद अग्रहरि, सरोज खनाल, गौरी मल्ल, ऋचा शर्मा, रक्षा थापा, सन्दीप क्षेत्रीलगायत कलाकारहरूको अभिनय छ।
यस्तै, सार्वजनिक ट्रेलरमा दीपकराज गिरी, जितु नेपाललगायत कलाकारहरू पनि देखिन्छन् । यी कलाकार अतिथि भूमिकामा रहेको अनुमान गर्न सकिन्छ ।
यस चलचित्रमा नेपाल र भारतका प्राविधिकहरूले संयुक्त रूपमा काम गरेका छन् । चलचित्रको पोस्ट प्रोडक्सनका कामहरू दुवै देशमा भइरहेको निर्माण पक्षले जनाएको छ ।
चलचित्रलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका हुन् । सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार यसका कार्यकारी निर्माता हुन् ।
चलचित्रको कथा स्वयम् प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा लेखनमा उनलाई शान बस्नेतले साथ दिएका छन् । संवादमा पनि प्रियंका र शानकै सहकार्य छ । युवराज इन्दोरियाको छायाङ्कन र राजा सिंह सिदुको सम्पादन छ । चलचित्रको संगीत रोहित शाक्यले तयार पारेका हुन् भने त्रिशाला गुरुङको स्वर रहेको छ ।
राजेन्द्र मोक्तानको कलर र मुकेश शाहको ध्वनि मिश्रण रहेको यो चलचित्र आगामी भदौ ५ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउँदैछ । नेपालका लागि आरआर फिल्म्सले वितरणको जिम्मा लिएको छ ।




