दयाहाङ र मिरुनाको ‘रातो घेरा’को छायांकन सुरु

काठमाडौं । निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण हुन लागेको वास्तविक घटनामा आधारित नेपाली चलचित्र ‘रातो घेरा : द रेड सर्कल’को छायांकन भक्तपुरबाट सुरु भएको छ ।

चलचित्रको पहिलो चरणको छायांकन ३० दिने सेड्युलमा भइरहेको निर्माण पक्षले जनाएको छ । भक्तपुरका विभिन्न ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक लोकेसनमा चलचित्रका महत्वपूर्ण दृश्य खिचिनेछ ।

सामाजिक यथार्थ, मानवीय सम्बन्ध र रहस्यलाई केन्द्रमा राखिएको चलचित्रमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा छन् । सुनिल पोखरेल, भोला राज सापकोटा, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, शेखर चापागाईँ, डी।बी। गुरुङ, बलबहादुर गुरुङ, इन्गी हाप्पो सुनुवार, सुरज तमु, खड्गबहादुर पुन, अरुण पुन मगर, सुस्मिता कुँवरलगायतको अभिनय रहनेछ ।

चलचित्रका निर्माता जीवन गुरुङ, कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचन हुन् । सह–निर्मातामा सुमन गुरुङ र खेम राना रहेका छन् । निर्माण टिमका अनुसार चलचित्रलाई विषयवस्तु र निर्माण दुवै हिसाबले फरक स्तरमा प्रस्तुत गर्ने तयारी गरिएको छ ।

चलचित्रको कथा तथा पटकथा राजु स्याङताङले तयार गरेका हुन् । शिशिर बिसंखे छायाकार रहेका छन् ।

निर्माण पक्षले चलचित्र २०८३ मंसिर १८ गते देशभर प्रदर्शन गर्ने तयारी गरेको छ ।