सत्य घटना आधारितमा बन्दै ‘रातो घेरा’, हिट जोडि फेरि सँगै देखिँदै
काठमाडौं । चलचित्र ‘रातो घेरा: द रेड सर्कल’को शुभमुहूर्त गरिएको छ ।
‘कबड्डी ४’ र ‘जारी’ पछि लगातार व्यावसायिक रूपमा सफल सिनेमा दिँदै आएका र दर्शकले समेत निकै रुचाएको जोडी दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहने यो चलचित्रको बिहीबार ललितपुरस्थित बंगलामुखी मन्दिरमा विधिपूर्वक पूजा गर्दै शुभमुहूर्त गरिएको हो ।
निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण हुन लागेको यस चलचित्रको छायांकन आगामी असार २५ गतेदेखि सुरु हुने छ ।
निर्देशक अनिल बुढा मगरका अनुसार ‘रातो घेरा’ केवल मनोरञ्जन मात्र नभई समाजको एउटा यथार्थपरक चित्रण हो । उनले भने, ‘हामीले यस चलचित्रमा सामाजिक तथा भावनात्मक पक्षलाई केन्द्रमा राखेका छौँ । यो एउटा यस्तो कथा हो जसले दर्शकको मन छुनेछ ।’
चलचित्रका निर्माता जीवन गुरुङले चलचित्रलाई भव्य र प्राविधिक रूपमा उच्च स्तरको बनाउन कुनै कसर बाँकी नराखिने बताए । ‘सत्य घटनामा आधारित कथा भएकाले यसलाई अझ बढी जीवन्त र कथात्मक रूपमा सशक्त बनाउन हामीले विशेष ध्यान दिएका छौँ,’ उनले भने ।
विश्राम फिल्म्स प्रा. लि. को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा दयाहाङ र मिरुनाका साथै रजनी गुरुङ, अरुण पुन, सुनिल पोखरेल, भोला सापकोटा, सुरज तमु, खड्ग बहादुर पुन (खबपु), सुस्मिता कुवँर, भावना खपाङ्गी मगर, कविता आले र विजय पौडेल लगायतको अभिनय रहनेछ ।
यस चलचित्रको अधिकांश छायांकन काठमाडौं उपत्यकामा गरिने निर्माण पक्षले जनाएको छ भने चलचित्रको प्रदर्शन मिति समेत तय भइसकेको छ । चलचित्र आगामी मंसिर १८ गते प्रदर्शनमा ल्याइने बताएको छ ।
यस चलचित्रका निर्माता जीवन गुरुङ, कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचन हुन् भने सह-निर्माता सुमन गुरुङ र खेम राना रहेका छन् ।
चलचित्रका लेखक राजु स्याङ्तान हुन् भने शिशिर बिसंखेको छायांकन रहनेछ । मनोज थापा मगर र सागर आले मगरको संगीत रहने चलचित्रको निर्माण व्यवस्थापन सन्देश राई, कस्ट्युम डिजाइन जानकी कठायत र प्रकाश व्यवस्थापन गुर्केश गुरुङ रहेका छन् ।
‘रातो घेरा’को वितरण अधिकार काठमाडौं भित्र काफीया फिल्म्स (गोविन्द शाही) र काठमाडौं बाहिर कुवेर सिने डिष्ट्रिब्युसनले लिएका छन् ।
शुभमुहूर्त कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरले सत्य घटनामा आधारित एउटा सुन्दर प्रोजेक्टमा जोडिन पाउँदा आफूहरू निकै उत्साहित रहेको बताए ।

