सत्य घटनामा आधारित चलचित्र ‘रातो घेरा’को छायांकन सम्पन्न

काठमाडौं । निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको चलचित्र ‘रातो घेरा: द रेड सर्कल’को छायांकन सम्पन्न भएको छ । सत्य घटनामा आधारित कथा रहेर निर्माण भएको चलचित्रको आइतबार छायांकन सम्पन्न भएको हो ।

असार ३१ गते भक्तपुरबाट खिच्न सुरु गरिएको यो चलचित्रको आइतबार काठमाडौंको बानेश्वरस्थित मण्डला थिएटरमा ६१ दिनका दिन इन्डक्ल्याप गरिएको थियो ।

सामाजिक यथार्थ, मानवीय सम्बन्ध र रहस्यलाई केन्द्रमा राखिएको चलचित्रमा दयाहाङ राई र मिरुना मगरसँगै सुनिल पोखरेल, भोला राज सापकोटा, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, शेखर चापागाईँ, डी.बी. गुरुङ, बलबहादुर गुरुङ, इन्गी हाप्पो सुनुवार, सुरज तमु, खड्गबहादुर पुन (खबपु), अरुण पुन मगर, सुस्मिता कुँवर, रामबाबु रेग्मी, भावना खपाङ्गी मगर, उमेश सोनम, बिजया पौडेल, सुभाषप्रसाद गजुरेल, सुवास सिंह ठकुरी, सञ्जय कुमार, रमिक सिंह ठकुरी र सुनिल तामाङको अभिनय रहेको छ ।

विश्राम फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा जीवन गुरुङ, कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचन छन् भने सुमन गुरुङ र खेम राना सह–निर्माताका रूपमा रहेका छन् ।

चलचित्रको कथा तथा पटकथा राजु स्याङताङले लेखेका हुन् भने शिशिर बिसंखेले छायांकन गरेका छन् । चलचित्रमा मनोज थापा मगर र सागर आलेको संगीत, श्रवण मुकारुङ र शिव हमालका गीत तथा मनोज थापा मगरकै पाश्र्व संगीत रहेको छ ।

चलचित्रका गीतमा सागर आले र शान्तिश्री परियारको स्वर सुन्न सकिनेछ । गीतमा प्रदीप लामा र जुना सुन्दासको अभिनयसमेत देख्न सकिने निर्माण पक्षले जनाएको छ । गीतको कोरियोग्राफी प्रदीप लामाले गरेका छन् ।

चलचित्रको सम्पादन जीवन थापाले गरेका छन् भने फिरोज खड्का मुख्य सहायक निर्देशक छन् । आगामी २०८३ मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको वितरण अधिकार काफिया फिल्म्सले लिएको छ ।