शिक्षक महासंघ भन्यो- ‘मास्टर्नी’को गीत तुरून्त बन्द गर
काठमाडौं । नेपाल शिक्षक महासंघले चलचित्र ‘मास्टर्नी’ को गीतप्रति आपत्ति जनाएको छ । महासंघको राष्ट्रिय समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त गीतको प्रयोग नगर्न माग गरेको हो ।
‘मास्टर्नी’ को ‘म्याथ सिक्ने भए…’ बोलको प्रबर्धनात्मक गीतलाई तुरून्त बन्द गर्न नेपाल शिक्षक महासंघको माग छ ।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा संयुक्तरूपमा जारी विज्ञप्तीमा उक्त प्रवर्द्धनात्मक (प्रोसोनल) गीतमा प्रयोग गरिएका शब्द र भाव संयोजनप्रति तीव्र असन्तुष्टि व्यक्त गरिएको छ ।
‘महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको नेपाली चलचित्र ‘मास्टर्नी’ को भर्खरै सार्वजनिक गीतले शिक्षक र गणित पेसाको गरिमा माथि गम्भीर प्रहार गरेको छ । त्यो गीतले निरन्तरता पाएमा त्यसबाट उत्पन्न हुनसक्ने असहज परिणामप्रति चलचित्र निर्माता र त्यससँग सम्बन्धित कलाकार नै जिम्मेवार हुने कुरामा सचेत गराउँछौं । उक्त गीतले निरन्तरता पाएमा त्यसबाट उत्पन्न हुन सक्ने असहज परिणामप्रति चलचित्र निर्माता र त्यससँग सम्बन्धित कलाकारहरू नै पूर्ण रूपमा जिम्मेवार हुनेछन्,’ विज्ञप्तिमा उल्लेख छ ।
भदौ ५ गतेदेखि प्रदर्शनमा आउन लागेको ‘मास्टर्नी’ ले प्रचारात्मक सामाग्रीका रूपमा गत मंगलबार सार्वजनिक गरिएको उक्त गीतलाई जनस्तरबाट समेत अधिकांशले ‘दुईअर्थी लाग्ने छाडा’ भनेका छन् । तर चलचित्रकी निर्माता तथा कलाकारसमेत रहेकी प्रियंका कार्कीले भने उक्त गीतलाई केवल मनोरन्जनका लागि मात्र लिईदिन आग्रह गरेकी छन् ।



