‘आदिपुरुष’ रिलिजको तीन वर्षपछि लेखक मनोज मुन्ताशिर भन्छन्- ‘मलाई लज्जा लागेको छ’
काठमाडौं । सन् २०२३ मा रिलिज भएको बलिउड चलचित्र ‘आदिपुरुष’ प्रदर्शन ताका जति विवादमा थियो, अहिले यसका लेखक मनोज मुन्ताशिरको पछिल्लो अभिव्यक्तिका कारण पुनः चर्चामा आएको छ ।
हिन्दू धर्मग्रन्थ ‘रामायण’मा आधारित भनिएको यस चलचित्रका संवाद र दृश्यका कारण चर्को आलोचना खेपेका लेखक मुन्ताशीरले अन्ततः सिनेमा रिलिजको तीन वर्षपछि आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेका छन् ।
हालै टाइम्स नाउलाई दिएको एक अन्तर्वार्तामा मुन्ताशिरले चलचित्रलाई लिएर आफ्नो आत्मग्लानी व्यक्त गरेका छन् । उनले भनेका छन्, “मैले सुरुमा यसलाई गम्भीरतापूर्वक लिएको थिइनँ, तर सत्य बुझ्न मलाई समय लाग्यो । आदिपुरुष मेरो जीवनको सबैभन्दा ठूलो गल्ती थियो र त्यो भन्दा ठूलो गल्ती त त्यसको बचाउ गर्नु थियो ।”
उनले अगाडि थपे, “फिल्ममा जे भयो, त्यसका लागि म गहिरो रूपमा लज्जित छु । म कुन मानसिक अवस्थामा थिएँ र ती संवादहरू कसरी लेख्न पुगेँ, आज पछाडि फर्केर हेर्दा म आफैंलाई अचम्म लाग्छ । जे भयो त्यसको लागि म हृदयदेखि नै देशसँग माफी माग्न चाहन्छु ।”
ओम राउतको निर्देशनमा बनेको ‘आदिपुरुष’मा प्रभास (राम), कृति सेनन (सीता) र सैफ अली खान (रावण) मुख्य भूमिकामा थिए । चलचित्रको घोषणा हुँदा दर्शकमा जुन उत्साह थियो, रिलिजपछि त्यो आक्रोशमा बदलियो ।
विशेष गरी हनुमानको मुखबाट बोलाइनु पर्ने “कपडा तेरे बाप का, तेल तेरे बाप का…” जस्ता सडक छाप लाग्ने संवादहरूले हिन्दू धर्मावलम्बीहरूको भावनामा गहिरो चोट पुर्याएको आरोप लागेको थियो ।
रावणको चित्रण, पात्रहरूको लुक्स र कमजोर भिएफएक्सका कारण पनि चलचित्रको व्यापक विरोध भएको थियो । रिलिजपछि उनलाई नराम्रो संवादका कारण ज्यान मार्ने धम्की समेत आएको थियो । यही कारण उनी भारत छोडेर केही दिन विदेश गएका थिए ।
यति मात्र होइन, नेपालमा पनि ‘सीता भारतकी छोरी हुन्’ भन्ने आशयको संवादलाई लिएर भारतीय फिल्म प्रदर्शनमा रोक लगाइएको थियो ।
काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर (हालका प्रधानमन्त्री) बालेन्द्र शाहले नगर प्रहरी खटाएरै काठमाडौंमा फिल्मको प्रदर्शन रोक्नुका साथै काठमाडौंमा कुनै पनि भारतीय फिल्म चल्न नदिने बताएका थिए ।
प्रदर्शन रोकिएपछि हलहरूको छाता संगठन चलचित्र संघ यसविरुद्ध अदालत पुगेको थियो । पछि सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएका कुनै पनि फिल्म नरोक्न उच्च अदालत पाटनले अल्पकालीन आदेश गरेको थियो ।
चलचित्र रिलिजको समयमा मनोज मुन्ताशीरले आफ्ना संवादहरूको कडा बचाउ गरेका थिए । उनले रामायणलाई आधुनिक पुस्ताले बुझ्ने भाषामा प्रस्तुत गरेको दाबी गरेका थिए । तर, उनको त्यो तर्कले आगोमा घिउ थप्ने काम गर्यो । अहिले आएर उनले चलचित्रको बचाउ गर्नु नै आफ्नो दोस्रो ठूलो गल्ती भएको स्वीकार गरेका हुन् ।
लगभग ५०० देखि ६०० करोड भारतीय रुपैयाँको ठूलो बजेटमा बनेको ‘आदिपुरुष’ले बक्स अफिसमा आफ्नो लगानी उठाउन समेत हम्मे-हम्मे परेको थियो । समीक्षकहरूले यसलाई “रामायणको अपमान” भन्दै शून्य रेटिङ दिएका थिए ।
यसअघि सीताको भूमिका निर्वाह गरेकी अभिनेत्री कृति सेननले पनि दर्शकको नकारात्मक प्रतिक्रियाले आफूलाई अत्यन्तै दुखी बनाएको बताएकी थिइन् ।
मनोज मुन्ताशिरको यो ढिलो गरी आएको माफीले पौराणिक र ऐतिहासिक कथावस्तुमा काम गर्दा सिर्जनात्मक स्वतन्त्रताको नाममा मूल मर्म र जनभावनालाई बेवास्ता गर्नु कति घातक हुन्छ भन्ने एउटा ठूलो पाठ बलिउडलाई सिकाएको छ ।


