केकी र आँचलको झगडा भाइरल !
काठमाडौं । संविधान दिवसको अवसर पारेर असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिंगे दाउ २’ को टिजर सार्वजनिक भएको छोटो समयमै चर्चाको केन्द्रमा बनेको छ ।
चार दिनअघि सार्वजनिक भएको टिजरमा पारिवारिक टसल छ । देउरानी र जेठानीबीचको झगडा र त्यसको बीचमा बिलखबन्धनमा पर्ने दाजुभाइको कथा टिजरमा देखिन्छ । अंशबण्डाको झगडाले तहसनहस भएको सम्बन्ध, आमा हराएको केस र त्यसमा प्रहरीले गरेको शंकालाई टिजरले केन्द्रमा राखेको छ ।
टिजरको सबैभन्दा बढी चर्चा गरिएको दृश्य भनेको केकी अधिकारी र आँचल शर्मा बीचको झगडा हो । जेठानी र देउरानीको भूमिकामा रहेका उनीहरू रुखमा चढेर एक-अर्काको कपाल लुछाचुँडी गर्दै गरेको दृश्य अहिले टिकटकमा निकै भाइरल भइरहेको छ । यो दृश्यले नेपाली समाजमा हुने घरेलु कलहलाई व्यंग्यात्मक र यथार्थपरक ढंगले प्रस्तुत गरेको दर्शकको बुझाइ छ ।
यस चलचित्रको टिजरले युट्युब, टिकटक र फेसबुकमा करोडौँ दर्शकको ध्यान खिच्न सफल भएको छ । टिकटक, फेसबुक र युट्युब गरी समग्र प्लेटफर्ममा १ करोड १० लाखभन्दा बढी पटक हेरिएको निर्माण पक्षले जनाएको छ ।
नेपाली समाजको मौलिक परिवेश र पारिवारिक कलहलाई रोचक ढंगले प्रस्तुत गरिएको यो दृश्य धेरै दर्शकले मन पराएको देखिन्छ । पहिलो भाग ‘झिंगे दाउ’लाई मन पराएका दर्शकहरूले दोस्रो भागले पनि त्यस्तै मनोरञ्जन दिने अपेक्षा गरेका छन् । धेरैले यसलाई ‘पूर्ण पारिवारिक फिल्म’ भन्दै सपरिवार हलमा गएर हेर्ने प्रतिबद्धता जनाएका छन् ।
निर्देशक ज्ञानेन्द्र देउजाले यसपटक पनि पारिवारिक मूल्य-मान्यता, दाजुभाइबीचको मनमुटाव र एउटी आमाको दुःखलाई मुख्य कथावस्तु बनाएका छन् । टिजरमा आमाको भूमिकामा देखिएकी कलाकारको छटपटी र घरभित्रको कलहले फिल्म केवल मनोरञ्जन मात्र नभई एउटा गहिरो सामाजिक सन्देश बोकेको सिनेमा हुने संकेत गर्दछ ।
टिजरले पाएको व्यापक प्रतिक्रिया र दर्शकको उत्साहलाई हेर्दा ‘झिंगे दाउ २’ ले बक्स अफिसमा सुखद ओपनिङ गर्ने र लामो रेसको घोडा बन्ने प्रक्षेपण हुन थालेको छ ।
कपनगढी सिनेमा प्रा.लि र फिल्म क्र्यू नेपाल प्रा.लिको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अयभराज बराल, उत्तम केसी, शिवहरि वैरागी नेपाल, आशा भुसाल, रेनु प्रधान र विनोदकुमार पौडेललगायत कलाकारको अभिनय रहेको छ । साथै, मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माले अतिथि कलाकारका रूपमा विशेष भूमिका निर्वाह गरेका छन् ।
यो चलचित्रलाई सुलभ प्रतीक, प्रतीक देउजा र समीक्षा देउजाले निर्माण गरेका हुन् । परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेको पटकथा तथा संवाद रहेको चलचित्रमा विष्णु घिमिरे ‘कल्पित’ले छायांकन गरेका हुन् ।
मित्र डी गुरुङको सम्पादन रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । आगामी असोज २ गतेबाट देशभरका हलहरूमा प्रदर्शन हुन लागेको यस चलचित्रको वितरणको जिम्मा एप्पल इन्टरटेन्मेन्टले लिएको छ ।




