‘झिँगेदाउ २’ को तीज ब्याटलमा जेठानी र देउरानीको जुहारी
काठमाडौं । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्र ‘झिँगेदाउ २’को तीज ब्याटल गीत सार्वजनिक गरिएको छ ।
संंविधान दिवसको अवसर पारेर असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाको निर्मााण पक्षले शुक्रबार कृष्ण जन्माष्टमीको अवसरमा पारेर ‘धागो छिन्यो चर्खाको’ बोलको गीतमा रिलिज गरेको हो ।
तीजको परिवेशमा तयार पारिएको यस गीतमा एलिना चौहान र रचना रिमालको स्वर, बाबुल गिरीको शब्द तथा संगीत रहेको छ ।
रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोमा चलचित्रका दुई मुख्य अभिनेत्री केकी अधिकारी र आँचल शर्माले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । जेठानी र देउरानीको भूमिकामा रहेका केकी र आँचलबीचको घम्साघम्सी देख्न सकिन्छ ।
भिडियोमा यी दुईबीच गीतको माध्यमबाट एक-अर्कालाई गरिने घोचपेच र व्यङ्ग्यलाई ‘तीज ब्याटल’को रुपमा प्रस्तुत गरिएको छ ।
चलचित्र ‘झिंगे दाउ’ले २०७९ भाद्र १६ प्रदर्शन भएर बक्स अफिसमा व्यावसायिक सफलता हासिल गरेको थियो । सोही सफलताको विरासतलाई बोकेर निर्माण भएको ‘झिंगे दाउ २’ले पनि दर्शकमाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा निर्माण पक्षले गरेको छ ।
कपनगढी सिनेमा प्रा.लि र फिल्म क्र्यू नेपाल प्रा.लिको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अयभराज बराल, उत्तम केसी, शिवहरि वैरागी नेपाल, आशा भुसाल, रेनु प्रधान र विनोदकुमार पौडेललगायत कलाकारको अभिनय रहेको छ । साथै, मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माले अतिथि कलाकारका रूपमा विशेष भूमिका निर्वाह गरेका छन् ।
यो चलचित्रलाई सुलभ प्रतीक, प्रतीक देउजा र समीक्षा देउजाले निर्माण गरेका हुन् । परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेको पटकथा तथा संवाद रहेको चलचित्रमा विष्णु घिमिरे ‘कल्पित’ले छायांकन गरेका हुन् ।
मित्र डी गुरुङको सम्पादन रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । आगामी असोज २ गतेबाट देशभरका हलहरूमा प्रदर्शन हुन लागेको यस चलचित्रको वितरणको जिम्मा एप्पल इन्टरटेन्मेन्टले लिएको छ ।




