‘झिँगेदाउ २’ सँग प्रतिस्पर्धा गर्न दुई महिना पछाडि सर्यो ‘कार्की साइँला’
काठमाडौँ । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’को प्रदर्शन मिति हेरफेर गरिएको छ । यसअघि आगामी साउन १ गतेलाई प्रदर्शन मिति तय गरेको निर्माण पक्षले अब यो चलचित्र आगामी असोज २ गते देखि देशव्यापी रूपमा प्रदर्शनमा ल्याउने घोषणा गरेको हो ।
बुधबार चलचित्रको नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति सरेको जानकारी दिएको हो । वितरकसँगको आपसी सल्लाह र व्यावसायिक रणनीतिअनुसार चलचित्र असोज २ गतेलाई पुर्याइएको बताइएको छ ।
सोही मितिमा अर्को चलचित्र ‘झिँगेदाउ २’ ले पनि आफ्नो प्रदर्शन तय गरिसकेको छ, जसका कारण यी दुई चलचित्रबीच बक्स अफिसमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
सार्वजनिक गरिएको नयाँ पोस्टरमा अभिनेता जितुसँगै अभिनेत्री प्रियना आचार्य (मुन्नी) लाई केन्द्रमा राखिएको छ । पोस्टरमा उनीहरूलाई निकै रोमान्टिक अन्दाजमा प्रस्तुत गरिएको छ । जितु र प्रियनाको प्रेमिल भावले चलचित्र विशुद्ध प्रेमकथामा आधारित रहेको सङ्केत गर्छ । ‘मुन्नी’ नामले चर्चित अभिनेत्री प्रियना र जितुको यो जोडी पर्दामा कस्तो देखिने हो भन्ने चासो दर्शकमा बढेको छ ।
चलचित्रको शीर्षक ‘कार्की साइँला’ले नै यसको मूल कथावस्तुको सङ्केत गर्छ । यो चलचित्र ‘कार्की साइँला’ नामका एक भरियाको जीवन, उनको दैनिक सङ्घर्ष र प्रेमको वरिपरि घुम्ने निर्माण पक्षले जनाएको छ । चलचित्रको छायाङ्कन पूर्वी नेपालका रमणीय स्थानहरूमा गरिएको छ । धनकुटा, सुनसरीको बराहक्षेत्र र चतरागायतका स्थानमा चलचित्र कैद गरिएको छ ।
राजेन्द्र बस्नेतको निर्देशनमा तयार भएको यस चलचित्रमा जितु र प्रियनाका अलावा सुशील पोखरेल, बीरेन्द्र सिंह कुशवाह, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
कर्णबहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता बालकुमार राई हुन् भने कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ताका रूपमा रहेका छन् । अनन्त राई कार्यकारी निर्माता रहेको यस चलचित्रको कथा सबिन अधिकारी र शङ्कर धितालले लेखेका हुन् ।
चलचित्रमा डम्बर राईको छायाङ्कन, किरण दाहालको द्वन्द्व निर्देशन र दिप्सन लिम्बुको सङ्गीत रहेको छ । रोजल थापाले मुख्य सहायक निर्देशकको रूपमा काम गरेका छन् भने सिबी भण्डारीले प्रडक्सन व्यवस्थापन सम्हालेका छन् ।
चलचित्रलाई काठमाडौँ उपत्यकाभित्र गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्नेछ भने उपत्यकाबाहिरको बजार व्यवस्थापन कुबेर फिल्मस्ले गर्ने जिम्मा लिएको छ ।

