नेपालको पहिलो थ्रिडी सिनेमा कुन हो ?
काठमाडौं । चलचित्र ‘भिजिलान्ते’का नाममा पनि नेपाली चलचित्र उद्योगमा एउटा रेकर्ड छ । नेपाली सिनेमा उद्योगमा रहेका थुप्रै रेकर्डमध्ये यो चलचित्रका नाममा पनि एउटा रेकर्ड रहेको छ ।
यो चलचित्र नेपालको पहिलो थ्रिडी सिनेमा हो । दीपेन्द्र के खनालले निर्देशन गरेको यो चलचित्र विसं. २०६९ चैत २३ गतेबाट प्रदर्शनमा आएको थियो ।
यो चलचित्रले वास्तवमा रेकर्ड मात्रै राखेको थिएन, आधुनिक प्रविधिको प्रयोगको सुरुवात पनि गरेको थियो । यसले नेपाली चलचित्र उद्योगमा नयाँ थ्रिडी प्रविधिमा पनि काम गर्न सकिन्छ है भन्ने सन्देश पनि दिएको थियो ।
यो नयाँ प्रविधिमा बनेको सिनेमालाई पुरुषोत्तम प्रधानले खिचेका थिए । यो चलचित्र आधुनिक थ्रिडी प्रविधि जडान भएको हल नेपालमा थोरै रहेको समयमा बनाइएको थियो ।
आधुनिक र परम्परागत दुवै खाले हलमा चलाउन मिल्ने थ्रिडी प्रविधि अपनाएर बनाइएको थियो ।
राजधानीका क्युएफएक्स र एफक्युबका हलमा पोलराइज्ड चश्माबाट सिनेमा देखाइएको थियो भने साधारण हलमा दुई रङवाला चश्मा प्रयोग गरिएको थियो ।
यो चलचित्रलाई फुल एचडी फर्म्याटमा डिजिटल क्यामेरामा खिचिएको थियो ।
आश्मा फिल्मसले निर्माण गरेको चलचित्रमा राज घिमिरे, प्रियंका कार्की, मेनुका प्रधान, शिखा शाही, सुभाष थापा, अर्जुन गुरूङ, शंकर आचार्यलगायतले अभिनय गरेका छन् ।




