सभ्य देखिए दशैँमा सिनेकर्मी, सभ्य रहिरहून्

तुलनात्मक रुपमा यो वर्षको दशैँ सिनेकर्मीका लागि सभ्य देखिएको छ । ठूला ब्यानरका सिनेमा एकैपटक रिलिज हुँदा सामान्यतया सिनेकर्मीबीच वाकयुद्ध नै चल्छ ।

एकले अर्कोको आलोचना मिडिया र सामाजिक सञ्जालबाटै गर्छन् । अनेक आरोप प्रत्यारोप लगाउँछन् । कसको योगदान कति, कसले सिनेमा उद्योगमा कति योगदान दियो वा दिएन भनेर उछितो काट्छन् ।

एकले अर्कोको सिनेमा सकेसम्म सिद्याउने खेलमा लाग्छन्, कति देखिएरै हाकाहाकी लाग्छन्, कति भित्रभित्रै अप्रत्यक्ष रुपमा राजनीति गर्छन् ।

भित्री रुपमा त कसका विरुद्ध को लाग्यो त्यो त विस्तारै बाहिर आउला तर सतहमा देखिने गरी भने यो पटक त्यती धेरै कोही कसैका विरुद्ध लागेको देखिएन ।

दुई वर्ष अगाडिको दशैँका देखिनेगरी मिडियामार्फत नै चलचित्रकर्मीहरु आमनेसामने भएका थिए । तीनै सिनेकर्मीका सिनेमा यो दशैँमा रिलिज भएका थिए । त्यसैले पुरानै प्रवृत्ति दोहोरिन सक्ने धेरैको आकलन थियो ।

तर, यो पटक उनीहरू संयमित देखिए । अवस्था भड्किन खोजेको थियो, यद्यपि, अर्को पक्ष सम्यमित हुँदा परिस्थिति सम्हालियो । र, तुलनात्मक रुपमा यो दशैँ संयमित देखियो ।

नेपाली सिनेमा उद्योग सानो छ, पाइला पाइलामा चलचित्रकर्मीहरू एकअर्कासँग ठोक्किनुपर्छ । बजार सानो छ । मिलेर नै अगाडि बढ्नुपर्छ । होसियार भएर अगाडि नबढे समस्या माथि समस्या थपिन्छ ।

त्यसैले सिनेकर्मीहरू जुधेर होइन, मिलेर अराजक भएर होइन सभ्य भएर अगाडि बढ्नुपर्छ । यसै पनि वर्षमा ५/७ वटा सिनेमाले मात्रै लगानी उठाइरहेको अवस्थामा एकअर्काको शत्रू होइन मित्र बनेर कसरी सफल हुने भनेर योजनाबद्ध बनाएर अघि बढ्नुपर्छ ।

अर्कालाई कसरी सक्काउने भन्ने होइन, कसरी उकास्ने भनेर योजना बनाएर अगाडि बढ्नुपर्छ । अन्यथा यो सिनेमा उद्योगमा लामो रेसको घोडा बन्न त्यति सहज छैन ।