संयुक्त निर्देशनमा बनेको पहिलो नेपाली चलचित्र कुन हो ?
काठमाडौं । नेपाली सिनेमा उद्योगमा थुप्रै चलचित्रका नाममा रेकर्ड छन् । जसमध्ये एउटा रेकर्ड चलचित्र ‘तिलहरी’का नाममा पनि छ ।
‘तिलहरी’मा रहेको रेकर्ड अहिलेका लागि सामान्य रहे पनि त्यो समयका लागि भने बिलकुल फरक थियो । यो चलचित्र दुई जनाले संयुक्त रुपमा निर्देशन गरेको नेपालको पहिलो चलचित्र हो ।
नेपाली चलचित्र इतिहासमा पहिलो पटक संयुक्त निर्देशनमा बन्नी प्रधान र रेशराज आचार्यले चलचित्र ‘तिलहरी’ निर्देशन गरेका थिए ।
सयपत्री फिल्म्स प्रा.लि.को व्यानरमा यो चलचित्र निर्माण हुनुभन्दा अगाडि नेपालमा कसैले संयुक्त निर्देशन गरेको पाइँदैन ।
यो चलचित्र वि.स. २०४६ मंसिर १२ गते प्रदर्शनमा आएको थियो । भुवन केसी, मौसमी मल्ल, मदनदास श्रेष्ठ, मोहन निरौला, अशोक शर्मालगायत कलाकार मुख्य भूमिकामा थिए ।
अहिले भने संयुक्त रुपमा चलचित्र निर्देशन गर्ने चलचित्र सामान्य बनिसकेको छ । सफल केसी र प्रतीक गुरुङले ‘हरि’ निर्देशन गरेका थिए ।
‘बेहुली फ्रम मेघौली’ साजन काफ्ले र आकाश बरालले निर्देशन गरेका थिए । साजन र आकाशले नै ‘जिरो डिग्री’ बनाइरहेका छन् ।




