सिनेमाले बिदा मनाउलान् कि बिदाले पनि बिदा मनाउला ?
काठमाडौं । तीजको बिदाको छेको पारेर रिलिज भएका चलचित्र यति बेला प्रदर्शनरत छन् । नेपाली चलचित्र ‘पेन्सन पट्टा’ र ‘बेहुली’ शुक्रबारबाट हलमा छन् । त्यसअघि देखिकै चलचित्र ‘गौँथली’, ‘पार्वती’ र ‘एलिफेन्ट इन द फग’ पनि हलमा छन् । यसबाहेक बलिउडका ‘हनुमान अंश’ र ‘मिर्जापुर’, हलिउडको ‘फल २ : डेड प्वाइन्ट’लगायत विदेशी भाषाका सिनेमा पनि हलमा छन् ।
‘पेन्सन पट्टा’ र ‘बेहुली’ तथा ‘हनुमान अंश’ र ‘मिर्जापुर’मा कसलाई दर्शकले रुचाउँछन् भन्ने अहिलेको मुख्य कौतुहलता हो ।
तीजको बिदा सुरु भएको छ । यो बिदामा दर्शकको रोजाईमा कुन सिनेमा पर्छ त्यसले नै शो थप्दै जानेछ । र बक्सअफिसमा आफूलाई अगाडि बढाउनेछ ।
शुक्रबार र शनिबार दुबै नेपाली सिनेमा ‘पेन्सन पट्टा’ र ‘बेहुली’ले हाउसफूल अकुपेन्सीमा चलेको दाबी गरेका छन् । तर, बक्सअफिस सार्वजनिक गरेका छैनन् । त्यसैले शुक्रबार र शनिबार निर्माताले गरेको दाबीमा तथ्यांकन नै सार्वजनिक नगरेको अवस्थामा भर परिहाल्नुपर्ने अवस्था छैन । त्यसैले यी सिनेमाको बक्सअफिस थाहा पाउन भने आउँदो सोमबारसम्म कुर्नुपर्नेछ ।
तीजको बिदालाई लक्षित गरेर नै यी चलचित्र रिलिज भएका हुन् । त्यसैले अब यी मध्ये कसले राम्रो वर्डअफ माउथ पाउँछ उसैले बक्सअफिसमा राम्रो कलेक्सन गर्नेछन् । तर वर्ड अफ माउथ राम्रो पाएन भने सिनेमाले बिदा मनाउने होइन बिदाले पनि बिदा नै मनाउनेछ ।
तर, ‘पेन्सन पट्टा’ र ‘बेहुली’ दुबैका निर्माता तथा निर्देशक आफ्नो सिनेमा ढुक्क देखिएकाले राम्रो व्यापारको अपेक्षा पनि धेरैलाई छ ।
टिकटकमा लोकप्रिय रहेका कुल ब्वाई र सदाबहार लोकप्रिय अभिनेता दयाहाङ राईको चलचित्र भएकाले पनि धेरैले यी दुईवटै सिनेमाबाट अपेक्षा भने गरेका छन् । अपेक्षा गरे अनुसार चल्छन् कि चल्दैनन् वा लामो समय दर्शकलाई तान्नेगरी हलका आफ्नो प्रभाव राख्छन् कि राख्दैनन् त्यो भने अबको केही दिनमै टुंगो लाग्नेछ ।
तर, ‘पेन्सन पट्टा’ र ‘बेहुली’ एकअकार्का प्रतिस्पर्धी सिनेमा भने होइनन् । ‘पेन्सन पट्टा’ सोसल ड्रामा हो भने ‘बेहुली’ लभस्टोरी हो ।
एक अर्काका लागि ‘पेन्सन पट्टा’ र ‘बेहुली’ चुनौती नभए पनि यी सिनेमाका लागि ‘हनुमान अंश’ र ‘मिर्जापुर’ भने ठूलो चुनौती हुन् । यी दुई चुनौतीलाई जसले पाखा लगाउन सक्छ, त्यो नै बक्सअफिसमा सफल हुनेछ ।




