विराज र दीपक होइनन्, यसपटक खास प्रतिस्पर्धा समीर र पलबीच हुँदैछ
काठमाडौं । नेपाली चलचित्र क्षेत्र यतिबेला निखिल उप्रेती र विराज भट्टको चर्चा र प्रतिस्पर्धाका आकलन र खबरले गर्माएको छ । तर, वास्तविकता अर्कै छ । विराज र निखिलबीच प्रतिस्पर्धा भइरहेको छैन । बरु प्रतिस्पर्धा विराज र दीपकराज गिरीबीच हुँदै छ ।
समीर भट्ट र पल शाह आमनेसामने हुँदा, त्यसको भोलिपल्ट दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म मैदानमा उत्रिँदैछ । अब दशैँको फिल्मी भिडन्त कस्तो रहला यो भने रोचक हुने देखिन्छ ।
यसपालिको दशैँ नेपाली फिल्मका लागि निकै रोचक बन्ने देखिएको छ । किनकि, दशैँमा एकपछि अर्को बहुप्रतीक्षित फिल्म दर्शकमाझ आउँदैछन् । अझ रोचक कुरा के भने, यसअघि चर्चा भएजस्तो तीन फिल्म एकै दिन रिलिज हुने छैनन् । तर, रिलिजको अन्तर हेर्दा प्रतिस्पर्धा झन् रोचक हुने देखिएको छ ।
असोज ३० गते विराज भट्ट र समीर भट्टको ‘१२ गाउँ २’ र पल शाहको मुख्य भूमिका रहेको ‘आबाट आमा २’ एकै दिन रिलिज हुँदैछन् ।
असोज ३० गते पर्दामा समीर भट्ट र पल शाह आमनेसामने हुनेछन् ।
तर, उनीहरूको भिडन्तको चर्चा सेलाउन नपाउँदै अर्को दिन अर्थात् असोज ३१ गतेबाट दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छ माया छपक्कै २’ पनि प्रदर्शनमा आउनेछ ।
त्यसपछि भने दशैँमा बक्स अफिस भिडन्त दुई फिल्ममा मात्र सीमित रहने छैन, तीन फिल्मबीचको प्रतिस्पर्धा बन्नेछ ।
दुई वर्षअघि पनि दसैंमा दीपकराज गिरी र विराज भट्टको फिल्म एउटै मितिमा आएका थिए । त्यतिबेला यी दुई कलाकारलाई लिएर निकै प्रतिस्पर्धाको चर्चा भएको थियो ।
अब दुई वर्षपछि फेरि दशैँमै दीपकराज गिरी र विराज भट्टको फिल्म आउँदैछ । तर यसपटक विराज आफैंभन्दा बढी चर्चामा उनका छोरा समीर भट्ट छन् ।
अर्कोतिर, नेपाली फिल्ममा आफ्नो छुट्टै क्रेज बनाएका पल शाह पनि ‘आबाट आमा २’ लिएर दशैँमा मैदानमा उत्रिँदैछन् । यसमा अरू पनि थुप्रै नाम चलेका अनुहार छन् ।
त्यसपछि एक दिन ढिलो गरेर दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छ माया छपक्कै २’ थपिँदैछ । यसमा पनि नाम चलेका कलाकारहरूको अभिनय छ ।
दसैंको यो फिल्मी भिडन्तमा दर्शकको साथ कसले पाउला ? समीर भट्ट कि पल शाह ? अनि त्यसको भोलिपल्ट आउने ‘छ माया छपक्कै २’ ले यी दुईको भिडन्तलाई अझै कति बदलिदेला ?
तीनै फिल्म बहुप्रतीक्षित छन् । तीनै फिल्मको प्रचारप्रसार पनि सुरू भइसकेको छ । त्ययमाथि यी फिल्म रिलिजको केही दिनमै अर्को बहुप्रतिक्षित फिल्म ‘कबड्डी ५’ रिलिज हुँदैछ । यी सिनेमामध्ये बक्सअफिसमा कुन सिनेमा सबैभन्दा धेरै रुचाइएला यो भने अहिलेको चासोको विषय बनेको छ ।




