समीरको सिने करियर, अब के होला ?
काठमाडौं । समीर भट्ट भाग्यमानी कलाकार हुन्, जसले पहिलो सिनेमाबाटै एक्सन स्टारको ट्याग पाए । पहिलो सिनेमा चल्यो मात्रै होइन । सुपर हिट भयो । पहिलो सिनेमामा नै दरिलो एक्सन र आकर्षक डान्स गरेपछि स्टारकिड्सको बलमा सिनेमा उद्योगमा आएको भन्ने टिप्पणी झेल्नु परेन ।
‘१२ गाउँ’ले २० करोड आसपासको व्यापार गरेपछि यसको बक्सअफफिस जस्तै समीरको पनि हाइट बढ्यो । त्यसपछि उनी लागे ‘बलिदान’तर्फ । सन्तोष सेनको प्रचार शैली र पहिलो सिनेमा नै हिट दिएका समीरको चर्चाका कारण ‘बलिदान’को छुट्टै हाइप थियो ।
सिनेमाको हाइप र समीरको चर्चाका कारण उनको दोस्रो चलचित्रको ठूलो प्रतिक्षा थियो । तर, सिनेमाले उनलाई साथ दिएन । थोरै क्यारेक्टर बेसको नायकमा ‘बलिदान’ले समीरको करियरमा बुस्ट गरेन ।
पहिलो सिनेले १९ करोड ९२ लाख कलेक्सन गरेकोमा दोस्रो सिनेमा ५ करोड १० लाखमै सीमित भयो ।
अहिले समीरको तेस्रो सिनेमा ‘१२ गाउँ २’ प्रदर्शनरत छ । १० दिनको बक्सअफिस डाटा पनि आइसकेको छ । तर, यो डाटा तेस्रो सिनेमामा आइपुग्दा पनि उनको करिअरलाई बुस्ट गर्नेगरी आएन । २ करोडको नजिक मात्रै सिनेको सिनेमाको १० दिनको कलेक्सन छ ।
यो कलेक्सन उनको सिनेमाका लागि सुखद् संकेत होइन । उनको सिनेमाका लागि सुखद् नहुुनु भनेका समीरको सिने करियरका लागि सुखद् होइन ।
कुनै पनि नायक, जो मुख्य भूमिकामा काम गर्छ, उसका सिनेमा लगातार सफल नहुनु भनेको उसको करियरका लागि राम्रो मानिँदैन ।
तर, समीरको ‘१२ गाउँ २’ अहिले पनि हलमै छ । प्रदर्शन भइरहेको छ । त्यसैले यसले पिक लिने समय पनि छ । त्यसैले समीरको दुईवटा सिनेमा लगातार असफल भइसके भन्ने त होइन । यद्यपि, संकेत राम्रो देखिएको छैन ।
सिनेमा बक्सअफिसमा जस्तो सुकै होस्, सफल होस् कि असफल । तर, समीरको चर्चा कम छैन । उनको एक्सन र डान्सको तारिफ कम छैन ।
त्यसैले उनको सिने करिअर ओरालो लाग्यो भनेर भन्न मिल्दैन । किनकि लागातार असफल सिनेमा दिने नायक थुप्रै छन् । जसले काम पनि लगातार गरिरहेकै छन् ।
समीरलाई त झन, सहज छ । किन भने एक्सनमा उनलाई बिट गर्ने अर्को उनको समकालीन नायक देखिएको छैन ।

