नेपाली सिनेमा बजारमा माग र आपूर्तिको पनि ख्याल गर
शुक्रबार नेपाली चलचित्र घरहरूमा तीनवटा नेपाली सिनेमा रिलिज भए । ‘आचार्य’, ‘बा : एक योद्धा’ र ‘जदौ’ एकै दिन रिलिज भए । यसबाहेक यसभन्दा अगाडि नै रिलिज भएका ६ वटा चलचित्र हलमा प्रदर्शनरत छन् । ‘झिंगे दाउ २’, ‘गौँथली’, ‘पार्वती’, ‘बेहुली’, ‘एलिफेन्ट्स इन द फग’ र ‘पेन्सन पट्टा’ पनि हलमा छन् ।
यसबाहेक ७ वटा विदेशी खचलचित्र हलमा छन् । भारतीय बक्सअफिसमा ‘तहल्का’ मच्चाइरहेको सिनेमा ‘हनुमान अंश’ पनि हलमै छन् ।
सिनेमा हलहरू सीमित छन् । भएका सिनेमा हलहरू पनि मुख्य ठूला सहरमा मात्रै छन् । यस्तो अवस्थामा यति धेरै चलचित्र कसरी राम्रो अथवा हाउसफूल वा उच्च अकुपेन्सीमा चल्न सम्भव छ ? सिनेमा धेरै भएपछि शो यसै थोरै पाउने सम्भावना हुन्छ । शो बाँडफाँटमा धेरै चलचित्र भएकाले शो संख्या नै थोरै भएपछि सम्भावना बोकेका र दर्शकको रोजाइमा पर्ने सिनेमाले राम्रो बजार पाउन सक्दैनन् ।
राम्रो सम्भावना हुँदाहुँदै पनि सिनेमाले ठाउँ नपाउनु भनेको निर्मातालाई घाटा हो । निर्मातालाई घाटा हुनु भनेको एउटा निमार्ताको खल्ती रित्तिनु मात्रै होइन । चलचित्र उद्योगको आयतन घट्नु पनि हो । सिनेमाको बजार खुम्चिनु हो । उक्त निर्माताले फेरि अर्को चलचित्र बनाउने सम्भावना घट्नु हो ।
यति मात्रै पनि होइन । निर्माता घाटामा जानु र सिनेमा क्षेत्रबाट पैसा कमाउन सहज छैन भनेर ऊ निष्कर्षमा पुग्नु भनेको यो क्षेत्रमा आउन तयार रहेर कस्तो बजार हो भनेर बुझिरहेकाहरू सिनेमा क्षेत्रमा प्रवेश नगर्नु पनि हो ।
हुन त एकै दिन ९ वटा नेपाली चलचित्र रिलिज भएका होइनन् । तर, एउटै समयमा नेपाली चलचित्र मात्रै ९ वटा रहनु भनेको दर्शकाका लागि धेरै हो । कुन सिनेमा हेर्ने भनेर अप्सन धेरै हुनु हो । एउटा रोजे अर्को छुट्ने, अर्को रोजे अर्को छुट्ने । दर्शकले चाहेर पनि एकै पटक यति धेरै चलचित्र हेर्न सक्दैन । चाहेर पनि हेर्न नसक्नु वा नपाउनु भनेको निर्मातालाई ठूलो घाटा हो ।
हुन त कुनै महिना हलमा सिनेमाको चाप कम हुन्छ । कहिले त नेपाली एउटै सिनेमा पनि हलमा हुँदैन । तर, समग्रमा हरेक हप्ता चलचित्र रिलिज हुन्छन् । धेरैजसो त हप्ताको दुई/तीनवटा चलचित्र रिलिज हुँदै आएका छन् ।
यसले बजारको माग र आपूर्तिमा सन्तुलन नरहेको प्रस्ट पार्छ । माग भन्दा धेरै चलचित्र अथवा बजारको आयतनभन्दा ठूलो संख्यामा चलचित्र बनिरहेको देखाउँछ । यसको अर्थ नेपाली चलचित्र उद्योगमा बजारको माग र आपूर्तिमा सन्तुलन छैन भन्ने हो ।
त्यसैले बजारको अध्ययन नगरी लहडका भरमा सिनेमा बनाउनेभन्दा पनि बजार कत्रो छ, बजारले कति सिनेमा धान्न सक्छ भन्नेजस्ता विषयको ख्याल गर्नुपर्ने देखिन्छ ।




