आकाश श्रेष्ठ ‘आ बाट आमा २’मा भिलेन हुन् ?
काठमाडौं । आकाश श्रेष्ठ नेपाली सिनेमा उद्योग र दर्शकका लागि परिचित नाम हो । केही सिनेमामा उनले मुख्य रोलमै नायक भएर काम गरे । म्युजिक भिडियोमा त उनी व्यस्त नै रहे ।
लिड रोलमा काम गरिसकेपछि पनि उनी सिनेमामा व्यस्त भने हुन सकेनन् । उनलाई काम पाउनै कठिन भयो । त्यसैले आकाशलाई सिनेमामा देख्न लामै समय दर्शकले कुर्नुपर्यो ।
लामो समयपछि आकाश चलचित्रमा देखिँदैछन् । दसैँमा रिलिज हुने चलचित्र ‘आ बाट आमा २’मा आकाशलाई दर्शकले देख्न पाउनेछन् ।
मुख्य भूमिकामध्ये एकमा आकाश रहेको भनेर निर्माणपक्षले भने पनि कस्तो भूमिकामा छन् भनेर प्रस्ट पारेको छैन । पोस्टरमा पनि उनी अटाएका छन् ।
टिजरमा नअटाएका उनी गीतमा भने देखिएका छन् । पल शाह र मलिका महत नृत्यमा देखिँदा उनी भने हाफ टिसर्टमा स्याड मुद्रामा देखिएका छन् । आकाश नृत्य गर्न होइन कसैलाई खोजिरहेका वा पछ्याइहेका छन् ।
उनले झापड समेत हानेको दृश्य देखिएको छ । यसले उनी सिनेमामा नकारात्मक चरित्रमा रहेका हुन् कि भन्ने संकेत गरेको छ । तर, यही नै हो भन्ने प्रस्ट भने छैन ।
प्रायः नेपाली सिनेमा उद्योगमा हिरोहरु सकेसम्म भिलेनको रोल गर्दैनन् । भिलेनको रोल गर्दा पर्दामा देखिएजस्तै वास्तविकतामा पनि दर्शकको माया घट्ने डरले हिरोहरु सकेसम्म पोजेटिभ रोलमै काम गर्न चाहन्छन् ।
आकाशको सन्दर्भमा भने उनले के गरेका हुन् थाहा पाउन केही समय कुर्नै पर्ने भएको छ । ट्रलेरले उनको भूमिका प्रस्ट पार्न सक्छ । तर, ट्रेलरले पनि उनको रोल सस्पेन्स नै राख्यो भने चाहिँ असोज ३० नै कुनुपर्नेछ ।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा बनेको चलचित्रमा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलीप अखेडालगायत कलाकारको अभिनय छ ।
चलचित्रको लेखनमा चन्द्र पन्तलाई रोशन भट्टले साथ दिएका छन् भने संवाद पनि रोशन भट्टकै रहेको छ । करण सिंह फिल्मको प्रोडक्सन एक्जिक्युटिभ हुन् ।
नवराज उप्रेतीको छायांकन रहेको चलचित्रमा बाबुल गिरीको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ । यो चलचित्रलाई आरआर फिल्म्सले नेपालभर वितरण गर्दैछ ।





