‘आ बाट आमा २’ गीत ‘झरातो टीका लाउँदा क्या दामी देखियो’मा खुलेका कलाकार
काठमाडौं । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आ बाट आमा २’को नयाँ गीत ‘रातो टीका लाउँदा क्या दामी देखियो’ सार्वजनिक भएको छ ।
गीतमा शब्द तथा संगीत बाबुल गिरीको रहेको छ । बाबुलसँगै रचना रिमालले स्वर दिएकी छन् ।
निर्माण टिमले फिल्मको प्रचारप्रसारलाई तीव्रता दिने क्रममा बिहीबार गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरेको हो ।
गीतको भिडियोमा दसैँको माहोलसँगै टीका–जमरा लगाउने नेपाली परम्परालाई प्रस्तुत गरिएको छ । डान्सिङ बिटको गीतमा पल शाह, मलिका महत, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, रिश्ता गुरुङ, निकिता आचार्यलगायत कलाकारलाई सामूहिक नृत्यमा देख्न सकिन्छ ।
लाहुरेको भूमिकामा रहेका सविन श्रेष्ठ पनि भिडियोमा देखिएका छन् । सामूहिक विवाहको प्रसङ्गमा कलाकारहरूको नृत्य प्रस्तुत गरिएको छ ।
गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन् ।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको फिल्ममा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलीप अखेडालगायत कलाकारको मुख्य भूमिका छ।
फिल्मको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टले लेखेका हुन् । करण सिंह प्रोडक्सन एक्जिक्युटिभ रहेको फिल्ममा नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।





