‘आ बाट आमा २’को ‘अचेल किन कान्छी’मा प्रेमिल देखिएका पल र मलिका

काठमाडौं । दशैंको अवसर पारेर असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘आ बाट आमा २’को नयाँ गीत सार्वजनिक गरिएको छ । चलचित्रको प्रचारप्रसारलाई तीव्रता दिने क्रममा निर्माण पक्षले ‘अचेल किन कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक गरेको हो ।

बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा रवि ओड र गंगा सोनामको स्वर छ । गीतमा शंकर सिंह ठकुरी, प्रेम राई, अञ्जना खतिवडा र सुस्मिता दाहालले सामूहिक स्वर दिएका छन् ।

सार्वजनिक भिडियोमा अभिनेता पल शाह र मलिका महत नृत्यमा रमाइरहेको देखिन्छ । विशेषगरी सामूहिक विवाहको परिवेशमा खिचिएको गीतमा दुलाहा–दुलहीदेखि अन्य कलाकारसम्मले नाचगान गरेको दृश्य समेटिएको छ ।

गम्भीर विष्टले नृत्य निर्देशन गरेको भिडियोमा पल र मलिकाबीच विवाहको विषयलाई लिएर नोंकझोक भएको पनि देख्न सकिन्छ । जसमा आकाश श्रेष्ठको प्रवेशले भने त्रिकोणात्मक प्रेमकथातर्फ संकेत गर्छ ।

‘आ बाट आमा २’मा पल शाह र मलिका महत पहिलोपटक जोडीका रूपमा देखिँदैछन् । त्यसैले उनीहरूको सहकार्यलाई लिएर पनि दर्शकमाझ चासो देखिएको छ । सार्वजनिक गीतमा उनीहरूको नृत्य र केमेस्ट्रीलाई प्रस्तुत गरिएको छ ।

निर्माण पक्षका अनुसार गीतको भिडियो छायांकन चलचित्रको प्रचार सामग्रीका रूपमा छोटो समयमै तयार गरिएको हो ।

चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा बनेको चलचित्रमा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलीप अखेडालगायत कलाकारको अभिनय छ।

चलचित्रको लेखनमा चन्द्र पन्तलाई रोशन भट्टले साथ दिएका छन् भने संवाद पनि रोशन भट्टकै रहेको छ। करण सिंह फिल्मको प्रोडक्सन एक्जिक्युटिभ हुन्।

नवराज उप्रेतीको छायांकन रहेको चलचित्रमा बाबुल गिरीको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ । यो चलचित्रलाई आरआर फिल्म्सले नेपालभर वितरण गर्दैछ ।