डोरी मेटाउने प्रविधिको प्रयोग गर्ने पहिलो चलचित्र कुन हो ?
काठमाडौं । नेपाली सिनेमा उद्योगमा थुप्रै रेकर्ड छन् । जसमध्ये केही प्रविधिसँग सम्बन्धित रेकर्ड छन् ।
डोरी मेटाउने प्रविधि (वायर रिमुभल)को प्रयोग गर्ने पहिलो नेपाली चलचित्रको रेकर्ड भने चलचित्र ‘सावधान’को नाममा छ ।
नेपाली चलचित्रमा पहिलोपटक द्वन्द्वका दृश्यहरूमा डोरी मेटाउने (वायर रिमुभल) प्रविधि प्रयोग चलचित्र ‘सावधान’ले गरेको हो । ‘सावधान’मा डोरी मेटाउने काम कपिल पराजुलीले गरेका थिए ।
यो प्रविधि एक्सन र स्टन्ट दृश्यहरूमा कलाकारको सुरक्षाका लागि गर्न प्रयोग गरिन्छ । एक्सन र स्टन्टमा कलाकारलाई स्टन्ट गर्न डोरीको सहारा दिइन्छ । ती डोरी सम्पादनको चरणमा दृश्यबाट डिजिटल रूपमा हटाइन्छ ।
विदेशी चलचित्रमा वायर रिमुभ गर्ने काम सामान्य भए पनि नेपालमा भने पहिलोपटक ‘सावधान’ चलचित्रले यस प्रविधिको सुरूआत गरेको थियो । यसले नेपाली सिनेमा उद्योगमा द्वन्द्वका दृश्यको गुणस्तर माथि उठाउन सहयोग गरेको थियो ।
चलचित्र ‘सावधान’ वि.स. २०६२ साल फागुन २६ गते रिलिज भएको थियो । यो चलचित्रका निर्देशक दिनेश डीसी हुन् । निखिल उप्रेती यो चलचित्रको मुख्य भूमिकामा थिए । सज्जा मैनाली, सन्तोष पन्तलगायत कलाकारको अभिनय रहेको थियो ।


