‘पारिश्रमिक दिएनन्’ भन्ने आरोपपछि दुर्गेशले निकाले प्रमाण

काठमाडौं । गायक आनन्द कार्कीले गीत गाउन लगाएर पारिश्रमिक नदिएको आरोप लगाएपछि गायक तथा पर्फमर दुर्गेश थापाले त्यसको खण्डन गर्दै पारिश्रमिक भुक्तानीसम्बन्धी प्रमाण सार्वजनिक गरेका छन् ।

गायक थापाले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुका साथै कार्कीसहित अन्य कलाकारले पारिश्रमिक प्राप्त गरेको उल्लेख गरिएको सम्झौतापत्रसमेत सार्वजनिक गरेका छन् ।

कार्कीले हालै प्राइम टेलिभिजनबाट प्रसारित कार्यक्रममा दुर्गेशले आफूलाई गीत गाउन लगाएर पारिश्रमिक नदिएको बताएका थिए । उनले दुर्गेशको सिर्जना रहेको ‘दुश्मन हेरेको हेर्‍यै’ गीतमा स्वर दिएको र गीतको भिडियोमा समेत काम गरेको तर त्यसबापतको पारिश्रमिक नपाएको आरोप लगाएका थिए ।

त्यसैगरी, दुर्गेशले अर्को एउटा चलचित्रका लागि तयार पारिएको गीतमा पनि आफूलाई संलग्न गराएको तर पछि सम्पर्कविहीन भएको आशयको अभिव्यक्ति कार्कीले दिएका थिए । उनको यो अभिव्यक्तिपछि विषयले नेपाली संगीत क्षेत्रमा चर्चा पाएको थियो ।

कार्कीको आरोप सार्वजनिक भएपछि दुर्गेशले आफ्नो सामाजिक सञ्जालमा प्रेस विज्ञप्ति सार्वजनिक गर्दै ‘दुश्मन हेरेको हेर्‍यै’ गीतमा सहकार्य गर्ने सबै कलाकार तथा प्राविधिकको पारिश्रमिक भुक्तानी गरिसकिएको उल्लेख गरेका छन् । उनले यससम्बन्धी प्रमाणका रूपमा सम्झौतापत्रसमेत सार्वजनिक गरेका छन् ।

दुर्गेशले सार्वजनिक गरेको सम्झौतापत्रमा ‘दुश्मन हेरेको हेर्‍यै’ गीतमा स्वर दिएका कलाकारहरूले आपसी सहमतिअनुसार पाउनुपर्ने पारिश्रमिक गीत सार्वजनिक हुनुअघि नै प्राप्त गरिसकेको उल्लेख छ । उक्त पत्रमा आनन्द कार्कीसहित एलिना चौहान र समीक्षा अधिकारीको नाम पनि समावेश छ ।

सम्झौतापत्रमा उल्लेख भएअनुसार, २०८१ पुस १५ गते दुर्गेश थापाको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतका सर्जक तथा लगानीकर्ता दुर्गाबहादुर थापा अर्थात् दुर्गेश थापा स्वयं हुन् ।

सम्झौतापत्रमा भनिएको छ, ‘उक्त गीतमा दुर्गेश थापासहित हामीहरू एलिना चौहान, समीक्षा अधिकारी, आनन्द कार्कीलगायतको स्वर समावेश रहेको छ । त्यसबापत आपसी सल्लाहबमोजिम हामीले पाउनुपर्ने आफ्नो पारिश्रमिक गीत सार्वजनिक हुनुअघि नै प्राप्त गरिसक्यौं ।’

सम्झौतापत्रमा गीतबाट प्राप्त हुने आर्थिक अधिकार दुर्गेश थापामा रहने र त्यसमा हस्ताक्षर गर्ने कलाकारहरूको उक्त गीतमा छुट्टै आर्थिक अधिकार नरहने व्यहोरा पनि उल्लेख गरिएको छ । सार्वजनिक कागजातमा सम्बन्धितको हस्ताक्षर रहेको देखिन्छ ।

यही कागजातलाई आधार बनाउँदै दुर्गेशले आनन्द कार्कीलाई पारिश्रमिक नदिएको भन्ने आरोपको खण्डन गरेका हुन् ।

दुर्गेशले आफ्नो प्रेस विज्ञप्तिमा आनन्द कार्की नेपाली संगीत क्षेत्रका वरिष्ठ तथा प्रतिष्ठित गायक भएको उल्लेख गर्दै उनीप्रति आफ्नो उच्च सम्मान रहेको बताएका छन् ।

उनले नेपाली संगीत क्षेत्रमा आफूले हासिल गरेको स्थानमा अग्रज कलाकारहरूको माया, सद्भाव, आशीर्वाद र सहकार्यको महत्त्वपूर्ण योगदान रहेको बताएका छन्। अग्रज कलाकारको अनुभव र योगदानलाई सम्मान गर्दै नयाँ पुस्ताका प्रतिभासँग पनि सहकार्य गर्दै आएको उनको भनाइ छ ।

‘दुश्मन हेरेको हेर्‍यै’ गीतमा कार्कीसँग सहकार्य गर्न पाउनु आफ्ना लागि महत्त्वपूर्ण अवसर भएको उल्लेख गर्दै दुर्गेशले उनको कला, अनुभव र सांगीतिक योगदानप्रति सम्मान व्यक्त गरेका छन् ।

उनले गीत तथा संगीत सिर्जना गर्दा त्यसलाई उत्कृष्ट र स्तरीय बनाउने प्रयाससँगै सिर्जनामा संलग्न गायक–गायिका, अभिनेता–अभिनेत्री, निर्देशक, प्राविधिक तथा अन्य सर्जकको मेहनत र योगदानलाई पनि महत्त्व दिने गरेको बताएका छन् ।

विज्ञप्तिमा दुर्गेशले उक्त गीतमा सहकार्य गरेका सम्पूर्ण कलाकार तथा प्राविधिकको पारिश्रमिक सम्बन्धित समयमै भुक्तानी गरिसकिएको स्पष्ट पारेका छन् । आनन्द कार्कीसँग सहमति भएको पारिश्रमिक पनि भुक्तानी गरिसकिएको उनको दाबी छ ।

यस विषयलाई पुष्टि गर्न आवश्यक प्रमाण प्रेस विज्ञप्तिसँगै संलग्न गरिएको उनले उल्लेख गरेका छन् ।

आनन्द कार्कीले उठाएको अर्को गीतसम्बन्धी विषयमा पनि दुर्गेशले आफ्नो धारणा सार्वजनिक गरेका छन् । उक्त गीत आफ्नो सिर्जना भए पनि चलचित्रका लागि तयार गरिएको उनको भनाइ छ ।

दुर्गेशका अनुसार, चलचित्र परियोजनासँग सम्बन्धित निर्माण, व्यवस्थापन तथा भुक्तानीको जिम्मेवारी सम्बन्धित चलचित्र पक्षकै हुन्छ । त्यसैले उक्त गीतको पारिश्रमिकसम्बन्धी विषयलाई बुझ्दा आफ्नो सिर्जनात्मक संलग्नता र चलचित्र परियोजनाको व्यवस्थापकीय जिम्मेवारीबीचको भिन्नतालाई ध्यान दिनुपर्ने उनले बताएका छन् ।

‘कुनै पनि विषयलाई पूर्ण सन्दर्भ र यथार्थ नबुझी व्याख्या गर्दा गलत बुझाइ उत्पन्न हुन सक्छ,’ भन्ने आशय व्यक्त गर्दै उनले चलचित्रसँग सम्बन्धित जिम्मेवारीलाई समेत समग्र रूपमा बुझिदिन आग्रह गरेका छन् । यस विषयमा सम्बन्धित चलचित्र पक्षको धारणा वा भुक्तानीसम्बन्धी थप विवरण भने सार्वजनिक सामग्रीमा उल्लेख छैन ।

दुर्गेशले आफ्नो विज्ञप्तिमा कसैप्रति आरोप लगाउने वा विवाद सिर्जना गर्ने उद्देश्य नरहेको स्पष्ट पारेका छन् । सार्वजनिक रूपमा उत्पन्न हुन सक्ने भ्रम र गलत बुझाइ हटाउँदै वास्तविक अवस्था स्पष्ट पार्न विज्ञप्ति जारी गरेको उनको भनाइ छ ।

उनले कलाकारबीच कुनै विषयमा फरक बुझाइ वा धारणा उत्पन्न हुँदैमा आपसी सम्मान र सांगीतिक सम्बन्ध कमजोर हुन नहुने बताएका छन् । आनन्द कार्कीप्रति आफ्नो सम्मान हिजो पनि रहेको, आज पनि रहेको र आगामी दिनमा पनि कायम रहने उनको भनाइ छ ।

नेपाली संगीत क्षेत्रको उन्नति, गरिमा र प्रतिष्ठा कायम राख्न आपसी सम्मान, विश्वास, सहकार्य र जिम्मेवारीलाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिएका छन् । अग्रज कलाकारको अनुभवलाई सम्मान गर्दै नयाँ पुस्ताको सिर्जनशीलतालाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्नु सबैको साझा दायित्व भएको उनले उल्लेख गरेका छन् ।

अन्त्यमा, दुर्गेशले सञ्चारमाध्यम, संगीतकर्मी तथा शुभेच्छुकहरूलाई प्रस्तुत तथ्य र प्रमाणका आधारमा विषयलाई निष्पक्ष रूपमा बुझिदिन आग्रह गरेका छन् । अग्रज कलाकारहरूको सम्मान तथा सम्पूर्ण सर्जकको हकहितका पक्षमा आफू सधैँ जिम्मेवार र प्रतिबद्ध रहने पनि उनले बताएका छन् ।