विवादित गीत हटाएको घोषणा, तर युट्युबमा १५ घण्टापछि पनि अझै खुल्दैछ ‘मास्टर्नी’

काठमाडौं । गायक दुर्गेश थापाले अभिनेत्री प्रियंका कार्कीको फिल्म ‘मास्टर्नी’ को प्रचारका लागि तयार गीत निकै विवादित बन्यो । चौतर्फी विवादपछि शुक्रबार बेलुका युट्युबलगायतका डिजिटल प्लेटफर्मबाट गीत हटाइएको घोषणा गरियो ।

विवादपछि दुर्गेश थापा र फिल्मको निर्माण कम्पनीले संयुक्त विज्ञप्ति जारी गर्दै गीत सबै डिजिटल प्लेटफर्मबाट हटाइएको घोषणा गरेका थिए । तर उक्त घोषणा भएको करिब १५ घण्टाभन्दा बढी समय बितिसक्दा पनि गीत सहजै हेर्न सकिने पाइएको छ ।

हाल युट्युबमा गएर ‘मास्टर्नी’ वा दुर्गेश थापा खोज्दा गीत देखिँदैन/भेटिँदैन । दुर्गेश थापाको युट्युब च्यानलमा पनि यो भिडियो सार्वजनिक रूपमा उपलब्ध छैन । तर रिलिजका बेला फेसबुक वा समाचारमा शेयर गरिएको पुरानो लिंकबाट भिडियो खुने पाइएको हो ।

अर्थात् भिडियो सार्वजनिक खोजबाट हटाइएको छ, तर प्रत्यक्ष लिंक भएकाले अझै हेर्न सकिन्छ ।

गीत सार्वजनिक गरिएको बेला दुर्गेशले फेसबुकमा सेयर गरेको पोस्टमा रहेको लिंक खोल्दा पनि भिडियो अहिले सहजै खुल्छ । उनले उक्त पोस्ट हटाएका छैनन् ।

यस्तै, गीत रिलिजका क्रममा विभिन्न अनलाइन सञ्चारमाध्यमले समाचारमा समावेश गरेका युट्युब लिंकमार्फत पनि भिडियो सहजै हेर्न सकिने देखिएको छ । अर्कोतर्फ, अभिनेत्री प्रियंका कार्कीले भने आफ्नो सामाजिक सञ्जालबाट उक्त गीतको भिडियो लिंक हटाएकी छन् ।

हाल प्रत्यक्ष लिंकबाट खुल्ने भिडियोमा ‘अनलिस्टेट’ उल्लेख गरिएको देखिन्छ । यसको अर्थ युट्युबमा यसले भिडियो पब्लिक अवस्थाबाट हटाएर ‘अनलिस्टेड’ गरिएको हुन सक्ने देखिन्छ । सार्वजनिक खोजबाट हटाइएको भए पनि पुरानो लिंकमार्फत भिडियोमा सहज पहुँच सम्भव भएको देखिएको हो ।

यसअघि दुर्गेश थापा र निर्माण कम्पनीले जारी गरेको संयुक्त विज्ञप्तिमा विवादप्रति ध्यानाकर्षण भएको जनाउँदै गीत सबै डिजिटल प्लेटफर्मबाट हटाउने निर्णय गरिएको उल्लेख गरेका थिए । तर विज्ञप्तिपछि पनि गीत प्रत्यक्ष लिंकमार्फत उपलब्ध रहेको देखिएको हो ।

हेर्नुस् यहाँ देखिन्छ