दीपक–सन्तोष विवाद : सामाजिक सञ्जाल दुरुपयोगको उपज
काठमाडौं । नेपाली चलचित्र उद्योगमा मित्रभन्दा पनि शत्रू धेरै छन् । स्वस्थ प्रतिस्पर्धाभन्दा पनि अस्वस्थ प्रतिस्पर्धा धेरै छ । कुन बेला कसले कहाँ बदला लिने हो कसैलाई कहिल्यै थाहा हुँदैन ।
सके अर्काको निर्माता आफ्नो पक्षमा पार्ने, नसके एकै मितिमा चलचित्र जुधाउने र एकले अर्काको उछितो काढ्ने नौलो होइन । एकले अर्काको कुरा काट्ने र खुट्टा तान्ने र कुभलो चिताउनु त सामान्य भइसक्यो ।
सानो क्षेत्र हो, पाइलापाइलामा ठोक्किनुपर्छ । तर, यसको कसैलाई हेक्का छैन । सकेसम्म खेदो खन्ने प्रचलन छ । ‘मुखमा रामराम बगलीमा छुरा’ भन्ने उखान यहाँ पाइला पाइलामा चरितार्थ हुन्छ ।
यो उखान पछिल्लो घटनाले पनि पुष्टि गर्छ । सन्तोष सेन र दीपकराज गिरीको घटनाले । जसले एकले अर्कालाई असफल बनाउन गरिएको प्लान भन्दै अडियो र भिडियो सार्वजनिक गरे । यसले कतिसम्म तुष पालेर चलचित्रकर्मी बस्छन् भन्ने छर्लङ्ग हुन्छ ।
जे नहुनुपर्ने यहाँ त्यही भइरहेको छ । जे हुनुपर्ने हो त्यो भएको छैन । जसले चलचित्र उद्योगलाई अधोगतीतर्फ धकेलिरहेको छ ।
सबै एक भएर समग्र सिनेमा उद्योगलाई काँध हालेर उचाल्नुपर्नेमा ठिक उल्टो भइरहेको छ । दीपक, सन्तोष र रोहित अधिकारीबीचको झगडा उत्कर्षमा पुग्दै थियो । फेसबुकमा दोहोरी चलिरहेको थियो । आरोप प्रत्यारोप चलिरहेको थियो । रोहित त गालीगलौज गर्नेविरुद्ध प्रहरीमा उजुरी लिएर साइबर ब्युरो पुगिसकेका थिए ।
ठिक त्यही बेला सामाजिक सञ्जाल फेसबुक बन्द भयो । अहिले के भइरहेको छ ? यो घटना कहाँ पुग्यो ? फेसबुकमा आरोप प्रत्यारोप गर्नेहरू फेसबुक नै नचलेपछि के गर्दैछन् ? भेटेरै दोहोरी ब्याटल त पक्कै खेल्दै छैनन् होला ?
सानो सानो कुरालाई फेसबुकमार्फत अतिरञ्जित गर्दाको परिणाम हो यो । व्यक्तिगत कुरालाई आम पब्लिकमा पु¥याउने र त्यसको पक्ष÷विपक्षमा हुने रियाक्सनलाई लिएर एकअर्काविरुद्ध खनिने परिपाटी मौलायो ।
सामाजिक सञ्जालको सदुपयोग होइन दुरुपयोग हुँदाको परिणाम हो यो । हुनु पर्ने सदुपयोग थियो । सदुपयोग गर्दै यसको भरपुर लाभ लिनुपर्ने थियो । तर, दुरुपयोग भयो । र, त्यसको असर अन्ततः आफैँ त्यसको भूमरीमा बस्ने अवस्था आयो ।
को दोषी, को निर्दोष त मुद्दामामिलामा पुगेको अवस्थामा बाहिर आउला तर अहिले शंका उपशंका त दुवै पक्षलाई आम पब्लिकले उत्तिकै गरिरहेका छन् । इज्जत त लिलामी भइरहेको छ ।
यसले हरेक कुराको सदुपयोग गर्नुपर्छ दुरुपयोग होइन । सित्तैमा प्लेटफर्म उपयोग गर्न पाइएको छ भनेर घण्टामा तीनवटा बेतुकका स्टाटस हालेर नानाभाँती लेखेर अरुलाई चिढ्याउने कि सकारात्मक तरिकाले यसको उपयोग गर्ने ? यसमा सबैले हेक्का राख्नुपर्छ । नराखे आउने यही अवस्था हो ।
एकले अर्काविरुद्ध सामाजिक सञ्जालमार्फत विष बमन नगरेको भए यस्तो अवस्था आउँथ्यो कि आउँदैन थियो ? एकपटक ठण्डा दिमागले सोचेमात्रै पुग्छ ।



