दशैँ जस्तै हुने भयो तिहार, निर्माताको हुँदै निद हराम

काठमाडौं । यो वर्षको दशैँ र तिहार उस्तै हुने भएका छन्, चलचित्र नगरीका लागि । दशैँ र तिहार चलचित्र उद्योगका लागि केही फरक नहुने भएको छ ।
दसैँमा जसरी नै तिहारमा पनि चलचित्रको लाइन लाग्ने भएको छ । तिहारको बिदालाई लक्षित गरेर चारवटा चलचित्र लिलिज हुने भएका छन् ।
तीनवटा चलचित्र भाइटीकाका दिन कात्तिक ६ गते रिलिज हुने भएका छन् । त्यसको एक दिनपछि कात्तिक ७ गते अर्को एउटा चलचित्र रिलिज हुनेछ ।
‘वरिष्ठ बलराम’, ‘जारी २’, ‘सोल्टिनी’ र मैझारो’ आमनेसामने हुने भएका हुन् ।
दशैँमा जस्तै तिहारमा पनि चलचित्रलाई शो पाउन हम्मेहम्मे पर्ने भएको छ । राम्रा होलान् भनिएका र अपेक्षा गरिएका सिनेमा नै संख्या बढेसँगै सीमित शो संख्यामा खुम्चिने निश्चित भएको छ ।
‘जारी २’ पनि सरेर भाइटीका अथवा कात्तिक ६ गतेमा पुगेपछि यो वर्षको तिहारमा हलहरूमा सिनेमाको भीड देखिने भएको छ । कुन सिनेमा हेर्ने कुन नहेर्ने दर्शकलाई भने रोजीछोडी अप्सन हुने भएको छ ।
दर्शकले रोजेर सिनेमा हेर्ने अवसर पाउँदा निर्माताको भने दिमाग हराम हुने भएको छ । कडा प्रतिस्पर्धामा उत्रिनुपर्दा निर्माता भने तनावमा हुनेछन् ।
‘वरिष्ठ बलराम’
‘वरिष्ठ बलराम’ सुरेन्द्र पौडेलको निर्देशन बनेको चलचित्र हो । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् ।
यो चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, माओत्से गुरुङ, भोलाराज सापकोटा, पशुपति राई र प्रदीप कुमार चौधरी मुख्य भूमिकामा छन् ।
वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा छन् । कार्यकारी निर्मातामा प्रदीप जि धामी र पुस्कर बि घिमिरे छन् ।
‘जारी २’
‘जारी २’लाई उपेन्द्र सुब्बाले निर्देशन गरेका छन् । कथा पनि उनले नै लेखेका छन् ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाका निर्माताहरू सफल निर्देशक रामबाबु गुरुङ र मधु मिजार, जीवन गुरुङ हुन् ।
सिनेमामा दयाहाङ, मिरुना, विजय, बुद्धिसहित ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।
‘सोल्टिनी’
चलचित्र ‘सोल्टिनी’लाई अर्जुन सुवेदीले निर्देशन गरेका छन् । चलचित्रलाई अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेका छन् ।
चलचित्रमा प्रकाश र परीक्षाको साथमा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतका कलाकारहरूले अभिनय रहेको छ ।
यस चलचित्रको कार्यकारी निर्माताको रूपमा जनउत्तरदायित्वका लागि सक्रिय ‘हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’ रहेको छ । यस समूहको नेतृत्व धरान महानगरपालिकामा मेयर हर्क साम्पाङ रहेका छन् ।
‘मैझारो’
चलचित्र ‘मैझारो’ कलाकार विल्सन विक्रम राईको निर्देशनमा तयार भएको चलचित्र हो । निर्देशक राई स्वयंकले सिनेमाको कथा लेखेका छन् । यो भने भाइटीकाको भोलिपल्ट कात्तिक ७ गते रिलिज हुनेछ ।
‘मैझारो’मा धीरज मगर, मिरुना मगर, दीया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङलगायतको अभिनय छ । फिल्ममा दयाहाङ राई विशेष भूमिकामा छन् ।
यो चलचित्रमा डिबी राई र सरिना लामा निर्माताको रुपमा रहेका छन् ।