कलाकारले दर्शकलाई कुन सिनेमा हेर्दिनुस् भन्ने ? गल्ती गर्ने निर्माता, गाली कलाकारले खानुपर्ने ?

काठमाडौं । यो वर्ष कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल, कामेश्वर चौरसिया र प्रकाश सपूत ठूलो नैतिक दबाबमा परेका छन् । निर्माताहरूले सोचविचार नगरी मनलाग्दी सिनेमाको रिलिज डेट लिँदा यी कलाकार मारमा परेका हुन् ।
एउटै कलाकारका एकै दिन दुई र त्योभन्दा धेरै चलचित्र रिलिज हुँदा कलाकार नैतिक दबाबमा परेका छन् । एकै दिन आफूले अभिनय गरेका दुई वा सोभन्दा धेरै चलचित्र प्रदर्शन हुँदा कुन चलचित्र हेर्नु भनेर दर्शकलाई हेर्नु भन्ने दबाबमा कलाकार छन् ।
तिहारमा दयाहाङका मात्रै तीनवटा चलचित्र रिलिज हुँदैछन् । ‘जारी २’, ‘वरिष्ठ बलराम’ र ‘मैझारो’ रिलिज हुँदैछन् । भलै अन्तिम समयमा आएर ‘जारी २’ले पुनः प्रदर्शन मिति सारेको जनाएको छ ।
विजय बरालका ‘जारी २’, ‘वरिष्ठ बलराम’ रिलिज हुँदैछन् ।
मिरुनाका ‘जारी २’ र ‘मैझारो’ रिलिज हुँदैछन् ।
दसैँमा प्रकाश सपूतका दुईवटा चलचित्र हुँदैछन् । ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ रिलिज हुँदैछन् ।
यस्तै नैतिक संकटमा कामेश्वर चौरसिया पनि छन् । कामेश्वर अभिनीत ‘अभिमन्यु’ र ‘बलिदान’ रिलिज हुँदैछ ।
एकै दिन एउटै कलाकारका दुईदेखि तीनवटा चलचित्र रिलिज हुने भएपछि कलाकारलाई पब्लिसिटीदेखि हल भिजिटसम्ममा नैतिक दबाब पर्छ ।
कुन चलचित्रलाई समय दिने, कुनलाई नदिने भन्ने संकटमा पर्छन् । एउटालाई समय दिए अर्कोको निर्माता रिसाउने अर्कोलाई दिए अर्का सिनेमाको निर्माता रिसाउने भएकाले कलाकारलाई आफू अभिनीत चलचित्र एकै दिन रिलिज हुँदा निल्नु र ओकल्नु हुन्छ ।
प्रचारमा हिँड्दा एकै दिन रिलिज हुने चलचित्रमध्ये कुन चाहिँ हेर्नु भन्नु ? एउटाको मात्रै नाम लिए अर्को रिसाउने । सबैको नाम लिए मेरो टिममा हिँडेर सँगै प्रतिस्पर्धा गर्न आएको अर्को चलचित्रको पब्लिसिटी गर्ने भनेर निर्माता रिसाउने डर हुन्छ । त्यसैले यस्तो अवस्थामा कलाकार बिलखबन्दमा पर्छन् । सहायक भूमिकामा रहेका कmलाकारलाई त खासै धेरै असर नहोला तर मुख्य भूमिकामा रहेका कलाकार भने साँच्चै तनावमा हुन्छन् ।
यसमा कलाकारभन्दा पनि निर्माता बढी जिम्मेवार हुन्छन् । पब्लिसिटीका लागि कलाकार चाहिन्छ भनेर जान्दाजान्दै एउटै मितिमा रिलिज डेट जुधाउने निर्माता यसका जवाफदेही हुन् । आफ्नो चलचित्रको मुख्य कलाकार रहेको अर्को सिनेमा त्यही डेटमा आउँछ भन्ने जान्दाजान्दै जुधाउने अनि कलाकारले मेरो चलचित्रलाई समय दिएन भनेर गुनासो गर्नु जायज होइन ।
सिनेमाको पब्लिसिटी कसरी गर्ने भनेर रणनीतिक योजना बनाएर अगाडि बढ्नुपर्नेमा ईख साँधेर सिनेमा जुधाउने निर्माता अनि त्यसको परिणामको भारी कलाकारलाई बोकाउनु बुद्धिमानी होइन ।