दर्शकलाई निरुत्साहित बनाउने काम नगर

नेपाली चलचित्रको पछिल्लो दशकलाई नियालेर हेर्ने हो भने ठूलो परिवर्तन देखिन्छ । ६० को दशकको उत्तरार्धबाट फरक धार भनेर भनिएका चलचित्र अहिले मुल धारका चलचित्र भइसकेका छन् ।
बलिउड सूत्रमा बन्ने चलचित्र मुल धारका थिए । त्यो सूत्रलाई पछ्याउने चलचित्रलाई मूल धार, नपछ्याउनेलाई फरक धार भन्ने गरिन्थ्यो । परिभाषित रूपमा नै यो नभने पनि बोलिचालीको भाषामा यसै भनिन्थ्यो ।
तर, अहिले अवस्था बदलियो । फरक धारका भनिएका चलचित्रहरू बढी बन्न थाले । गीत र फाइटबेगरका चलचित्र बन्न थाले । सुगठित शरीर र गोरो वर्ण नभएका व्यक्ति पनि सिनेमाका नायक बन्न थाले । हिरो र हिरोइनको प्रेमबेगरका पनि चलचित्र बन्न थाले ।
जब सुगठित शरीर, गोरो वर्ण र आर्य फेसबिनाका कलाकार पनि हिरो भएका चलचित्रको संख्या बढी बन्यो र यस्तै चलचित्रले व्यापार गर्न थाले अनि फरक धार भनेर निम्छरो मानिएका यस्तै चलचित्र मुल धारमा आइपुगे ।
अहिले यस्तै चलचित्रको संख्या धेरै छ । चकलेटी फेस भएका नायक नायिकामा चलचित्र कम बन्न थालिसके । प्रेमकै पछि साढे दुई घण्टा पर्दामा दौडिने हिरोहिरोइन होइन विठ्युँमा डोको र थाप्लोमा नाम्लो बोकेर उकालो–ओरालो गर्ने कलाकारहरू झुस्स दारी फूलेका र कुरकुच्चा पट्पटी फुटेकाहरू दुई घण्टा पर्दामा देखिन्छन् ।
यस्ता पात्र देखिँदा सहर मात्रै होइन नेपाली चलचित्रमा गाउँ पनि देखियो । गाउँका दुःख र पीडा देखिन थाले । त्यहाँका सामन्त र पीडितहरू पनि आउन थाले ।
कुनै समय एकमना बलिउड सूत्रका सिनेमा आए, दर्शक नै दिक्क हुनेगरी । अहिले लगातार उही गाउँको त्यो पनि उस्तै कथामा त्यसैगरी चलचित्र बनिरहेका छन् ।
एकै ठाउँमा खिचिएका, एकै खालका कथा, उस्तैउस्तै कलाकारका चलचित्र त्यो पनि एकै दिन आउन थालेका छन् । हुबहु उस्तै चलचित्र आउनु नै दुखद् हो, चलचित्र निर्माता र दर्शक दुवैका लागि । चलचित्र उद्योगका लागि पनि यो राम्रो होइन ।
एकै दिन एकै खालका चलचित्र आएपछि दर्शकले कुन हेर्ने हो भन्ने गम्भीर प्रश्न हो । एकै समयमा एउटै वा एकै खालको चलचित्र आउनु पक्कै राम्रो होइन । दर्शक र निर्माता दुवैलाई घाटा हो । एकातिर समय र पैसा अर्कातिर मेहनतको बर्बादी हो ।
हरेक कुरामा एकरुपता होइन विविधता चाहिन्छ, चलचित्रमा पनि त्यहस् हो । विविधताले दर्शकको ध्यान खिच्छ । त्यसैले त भनिएको हो, रंगीचंगी फूलबारी नै राम्रो । चलचित्रमा पनि एकरुपता होइन, विविधता चाहिन्छ ।
एकै खाले चलचित्र आइरहँदा त्यसले दर्शकमा उत्साह थप्दैन, बरु निरुत्साहित बनाउँछ । त्यसैले बजारमा के आइरहेको छ, त्यस्तै होइन, के छैन भनेर त्यो ल्याउनेतर्फ मेकरले ध्यान दिनुपर्छ ।