‘परान’ले दिएको सन्देशमा ध्यान देऊ
यतिबेला चलचित्र ‘परान’ ब्लकबस्टरको बाटोमा छ । हरेक शो हाउसफूल भइरहेका छन् । नाम चलेका स्टार कलाकार र ब्रान्ड भ्यालु भएका चलचित्रले समेत ‘परान’लाई खासै प्रभाव पार्न सकेनन् । जसका कारण बक्सअफिसमा ब्लकबस्टरको बाटोतर्फ यो चलचित्र अगाडि बढिरहेको छ ।
अनमोल केसी र दयाहाङ राईका चलचित्रले तथा कबड्डी र बासुरी फिल्मस जस्तो ब्यानरले पनि ‘परान’लाई त्यति धेरै असर गरेको देखिएको छैन । यसले यो सन्देश प्रष्ट दिएको छ– यदि, चलचित्रमा परान भरिएको छ भने दर्शकले सिनेमा मन पराउँछन् । सिनेमा ठिकठाक मात्रै भए पनि कसैले दर्शकलाई हल जानबाट रोक्न वा छेक्न सक्दैन ।
सुरुमा सिनेमा घरहरूले जतिसुकै शो दिउन् । जतिसुकै कमजोर आँकुन् । सिनेमा राम्रो छ भने त्यसको शक्ति र दर्शकको साथले सिनेमा घरका मालिकहरूसँग त्यो सिनेमाले आफैँ शो थुतेर लिन्छन् । ‘परान’ले दिएको सन्देश यही हो । गत वर्ष नै ‘पूर्ण बहादुरको सारङ्गी’ले पनि यही कुरा पुष्टि गरिसकेका थिए ।
त्यसैले शोका लागि रोइकराई र राजनीतिक होइन, सिनेमा राम्रो बनाउनुपर्छ । चलचित्रले शो आफैँ पाउँछ । लतारिएरै हल मालिकले शो दिन्छन् । किन भने आखिर उनीहरूले व्यापार गर्न बसेका हुन्, जुन बढी बिक्री हुन्छ, त्यही बेच्छन् । यो उनीहरूको पनि धर्म हो । यो व्यापारको नियम पनि हो ।
‘परान’ हेर्न दर्शक ओरिएपछि केही दिनमै यसको शो दोब्बर बनाए । गत वर्ष ‘१२ गाउँ’ र ‘पूर्ण बहादुरको सारङ्गी’मा पनि त्यही भएको थियो । मध्यरात पनि शो दिएका थिए । यो तथ्यलाई ‘परान’ले फेरि एकपटक पुष्टि गरिदिएको छ ।
सबैभन्दा पहिला त दर्शकको नजरमा चलचित्र पर्न त्यसको विषय महत्वपूर्ण हुन्छ । जति धेरैले भोगेको वा देखेको विषय सिनेमाले उठाउँछ, यदि राम्रो बनाउन सक्ने हो भने त्यति नै धेरै त्यसले सकारात्क प्रतिक्रिया पाएर फैलिने सम्भावना हुन्छ ।
यदि, विषय समसामयिक नभएर कोरा कल्पनामा आधारित छ भने त्यो पनि त्यति नै विश्वस्नीय प्रस्तुतिसहित निर्माण भएको हुनुपर्छ ।
त्यसैले चलचित्रले कति शो पायो, धेरै वा थोरै पायो भनेर त्यसको अंकगणितमा खिर्चने समय सिनेमालाई राम्रो बनाउन खर्चियो भने त्यसले फाइदा गर्छ । ‘१२ गाउँ’ र ‘पूर्ण बहादुरको सारङ्गी’ पछि ‘परान’ले पुष्टि गरेको पनि यही नै हो ।



