‘जारी २’ को बलियो सुरूवात, पहिलो दिनको कमाइ करोडमाथि
काठमाडौं । उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी २ः सङ अफ च्याब्रुङ’ ले बक्स अफिसमा बलियो सुरूवात गरेको छ । फिल्मले पहिलो दिन शुक्रबार १ करोडमाथिको ग्रस कलेक्सन गरेको छ ।
निर्माता कम्पनी बाँसुरी फिल्मस्का तर्फबाट मणिराम पोखरेलका अनुसार, शुक्रबार फिल्मले १ करोड १८ लाख ग्रस कमाइ गरेको हो । शनिबार बिहान हल भिजिटका क्रममा उनले यो जानकारी दिएका हुन् ।
सुपरहिट फिल्म ‘जारी’ को दोस्रो श्रृंखला भएकाले ‘जारी २’ निर्माण घोषणादेखि चर्चामा थियो । जारी २ ले शनिबार पनि आक्रामक व्यापार गरिरहेको छ ।
फिल्ममा दयाहाङ राई र मिरूना मुख्य अभिनयमा छन् । साथमा विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरूङ, प्रेम सुब्बा लगायतको अभिनय छ । निर्मातामा रामबाबु गुरूङ, मधु मिजार र जीवन गुरूङ छन् ।
फिल्म नेपालसहित अन्तर्राष्ट्रिय बजारमा पनि एकसाथ रिलिज भएको हो ।



