दैनिक एक करोड २ लाख कमाउँदै ‘कबड्डी ५’

काठमाडौं । दयाहाङ राई स्टारर चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले आक्रामक कलेक्सनलाई निरन्तरता दिएको छ ।

‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले ११ दिनमा ११ करोड २० लाख रुपैयाँ कलेक्सन गरेको छ । यो कलेक्सनको अंकगाणितले ‘कबड्डी ५’को औसतमा दैनिक १ करोड २ लाखको दरले कलेक्सन गरिरहेको छ ।

‘कबड्डी ५’ले सुरु दिनदेखि नै ठूलो संख्यामा शो पायो र पाएका अधिकांश शो अग्रिम बुकिङमै भरिएपछि कलेक्सन पनि शोही अनुसार आइरहेको छ ।

‘कबड्डी’का अघिल्ला चारवटै शृंखला बक्सअफिसमा हिट छन् । ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’मा चलचित्रमा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ मुख्य भूमिकामा छन् ।

माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देललगायत कलाकारको पनि अभिनय छ ।

रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको सिनेमामा निर्देशक रामबाबुसँगै मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ लगानी छ ।

सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन छ । सागर राज कार्यकारी निर्माता छन् । सिनेमामा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत छ ।