दयाहाङ भन्छन्– प्रेम पाएपछि परिवार र समाजसँगको सम्झौता र संघर्ष नै ‘कबड्डी ५’को कथा हो

काठमाडौं । ‘कबड्डी’का अघिल्ला शृंखलामा मैयाँलाई पाउने संघर्षमा रहेका काजी अब प्रेम पाएपछि जीवन कसरी अघि बढाउने भन्ने दोधारमा छन् ।

‘कबड्डी ५ः फाइनल म्याच’मा काजीको कथा प्रेम प्राप्तिबाट परिवार, समाज र साथीभाइसँगको सम्बन्ध जोगाउँदै अघि बढ्ने संघर्षतर्फ मोडिएको छ । समयसँगै परिपक्व भएको काजीको प्रेम र समाजप्रतिको परिवर्तित सोच यो सिनेमामा देखिने भएको तछ ।

अभिनेता दयाहाङ राईका अनुसार ‘कबड्डी ५’ले यही प्रश्नको व्यावहारिक पाटो खोजेको छ । प्रेम प्राप्तिपछि काजीले परिवार, समाज, साथीभाइ र व्यक्तिगत जिम्मेवारीबीच गर्नुपर्ने सम्झौतालाई यसपटक कथाको महत्वपूर्ण हिस्सा बनाइएको उनले बताए ।

रामबाबु गुरुङको निर्देशनमा बनेको सिनेमा आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउँदैछ । पाँचौँ भागमा काजीको प्रेमकथा नयाँ मोडमा पुग्ने भए पनि कथा केवल प्रेम प्राप्तिको संघर्षमा सीमित नरहेको दयाहाङको भनाइ छ ।

‘प्रेम प्राप्तिको संघर्षबाट अघि बढिसकेको काजीको जीवनमा अब प्रेमसँगै परिवार, समाज, साथीभाइ र व्यक्तिगत जिम्मेवारीको प्रभाव दर्शकले देख्न पाउनुहुनेछ,’ उनले भने, ‘प्रेम पाएपछि त्यसको व्यावहारिक पाटो पनि हुन्छ । त्यही पाटो हेर्न नै ‘कबड्डी ५’ बनेको हो ।’

दयाहाङका अनुसार पहिलो भागदेखि पाँचौँसम्म आइपुग्दा काजीको चरित्रसँगै उसको जीवन भोगाइ पनि बदलिएको छ । त्यसैले यसपटक दर्शकले विगतका भागमा देखिएको भन्दा केही फरक काजीलाई पाउनेछन् ।

मैयाँ फर्किएपछि बदलिएको काजी
‘कबड्डी’ शृंखलाको सुरुदेखि नै काजी र मैयाँको सम्बन्ध कथाको प्रमुख आधार रहँदै आएको छ । पाँचौँ भागमा फेरि मैयाँसँगको भेट भएपछि काजीमा पुरानो प्रेमले हलचल ल्याउने भए पनि उसको प्राथमिकता पहिलेको जस्तो केवल प्रेम प्राप्तिमा सीमित नरहेको दयाहाङ बताउँछन् ।

‘यसपटक एउटा इनर्जी, उमेर, आफ्नोपनभन्दा पनि परिवार, समाज, साथीभाइ धेरै चिजसँग काजीले सम्झौता गर्छ । किनभने त्यहाँ उसको सपना जोडिएर गएको छ,’ उनले भने, ‘हिजो प्रेम प्राप्त गर्नु थियो, यसपटक उसले धेरै चिजसँग सम्झौता गरेर जान्छ ।’

मानिसको उमेर र परिस्थितिसँगै प्राथमिकता पनि बदलिने भएकाले काजीले परिवार, साथीभाइ र समाजसँगको सम्बन्धलाई सम्हाल्दै अघि बढ्नुपर्ने उनी बताउँछन् ।

‘हरेकको जीवनमा त्यो हुन्छ होला नि । एउटा उमेरसम्म यो चिज मेरा लागि केही होइन, मलाई आफ्नो निर्णय गर्न देऊ भन्ने हुन्छ । एउटा समय पार गरेपछि उसलाई परिवार, साथीभाइ र समाज पनि चाहिन्छ,’ उनले भने, ‘त्यो सबै चिजसँग उसले ट्याकल गर्दै जाँदा सम्झौता पनि गर्दै जानेछ ।’

राजनीतिक परिवर्तनको प्रभाव
‘कबड्डी ५’मा काजीको व्यक्तिगत जीवनसँगै बदलिँदो राजनीतिक परिवेशको प्रभावसमेत देख्न पाइने दयाहाङले बताए ।

‘पछिल्लो समयको राजनीतिले गर्ने असर, राजनीतिक परिवर्तनसँगै आउने अपेक्षाहरू र परिवर्तनपछिका सपनाहरूको प्रभाव देख्न सकिन्छ,’ उनले भने, ‘तर दोस्रो भागमा जसरी हामीले राजनीतिक विषय नै उठाएका थियौँ, त्यस्तो विषयचाहिँ समेटिएको छैन । दर्शकले अहिलेको अवस्थामा समयसँगै आएको परिवर्तनसँगको काजीको मनोदशा भने देख्न सक्नेछन् ।’

यसअघिका शृंखलामा जस्तै यसपटक पनि साथीहरूको उक्साहटले काजीको जीवनमा पार्ने प्रभाव कथाको एउटा पक्ष बनेको छ । त्यसको जवाफ भने सिनेमा हेरेपछि मात्रै थाहा हुने दयाहाङले बताए ।

‘पाँचसम्म आइपुग्दा काजी मेरै साथी हो जस्तो लाग्छ’
काजीको चरित्रसँग डेढ दशकदेखि जोडिएर काम गरिरहेका दयाहाङलाई अब यो पात्र पर्दाको चरित्रभन्दा पनि आफ्नै साथी जस्तो लाग्न थालेको छ ।

‘यतिका वर्ष गरिसक्दा काजी क्यारेक्टर छोड्छु जस्तो लाग्दैन, तर नजिकको साथी जस्तो आभास हुन्छ,’ उनले भने ।

उनले ‘कबड्डी’को दोस्रो भागमा काजीको चरित्रलाई कसरी अगाडि बढाउने भन्ने विषय निकै चुनौतीपूर्ण लागेको स्मरण गरे । तर मानिसको जीवनमा आउने परिवर्तनसँगै काजीलाई पनि अगाडि बढाउँदै लगेको उनले बताए ।

‘दोस्रो भाग गर्दा चाहिँ मलाई निकै कठिन भएको थियो । काजी क्यारेक्टर कसरी अगाडि बढ्छ भनेर,’ उनले भने, ‘तर एउटा जर्नीमा उभिएर हेर्दा हाम्रो जीवनमा जसरी परिवर्तन आउँछ, त्यसरी नै अगाडि लगेको छु ।’

पहिलोदेखि पाँचौँ भागसम्म आइपुग्दा काजीले भोगेको करिब १५ वर्षको जीवनयात्रासँगै पात्रलाई विकास गर्दै लैजान पाउनु आफूका लागि रमाइलो अनुभव भएको दयाहाङले बताए ।

काजीको कथा अझ परसम्म लैजाने सोच
काजीसँगको लामो सम्बन्धकै कारण भविष्यमा यी पात्रहरूको कथा अझ परसम्म लैजाने सोचसमेत दयाहाङले सुनाए ।

‘यिनै पात्रहरूको ६५ वर्षपछिको मनोदशा कस्तो हुन्छ होला ? सबै पात्रहरू कहाँ के गरिरहेका होलान् ? भन्ने तरिकाले बनाउन मन छ,’ उनले भने ।

निर्देशक रामबाबु गुरुङले त्यस्तो कथा नबनाए आफूले बनाउने सोच राखेको पनि उनले बताए । ‘रामबाबुले नगरे पनि म गर्छु भन्ने सोच छ,’ उनले भने ।

लामो समय एउटै पात्रसँग काम गर्दा पात्रप्रति मोह बढ्दै जाने उनको भनाइ छ । ‘१५ वर्ष अघिदेखिको काजी पात्रसँगको कनेक्सन र हाम्रो भोगाइले पनि होला, काजी पात्रहरूप्रति एकदमै मोह जाग्ने रहेछ,’ उनले भने, ‘काम गर्दै जाँदा त्यो पात्रप्रति माया लागेर आउने रहेछ, काजी अहिले हाम्रै साथीजस्तो फिल हुने हुन्छ ।’

निर्देशक गुरुङकै कथा लेखन रहेको सिनेमामा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, मिरुना मगर, सिर्जना गुरुङ र रिश्मा गुरुङ मुख्य भूमिकामा छन् ।

सहायक भूमिकामा पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंले अभिनय गरेका छन् ।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमामा रामबाबु गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ ९एलजी०को लगानी छ । सागर राज कार्यकारी निर्माता रहेको सिनेमामा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन छ ।

सिनेमाको मुख्य सहायक निर्देशकमा सोमनाथ खनाल र तारानाथ न्यौपाने छन् । नेपालमा ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले तथा विदेशी बजारमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछ ।