चलचित्र निर्माणमा उत्साहजनक वृद्धि, चार महिनामा ७० चलचित्रले लिए इजाजत

काठमाडौं । यो वर्ष सबैभन्दा धेरै चलचित्र बन्ने करिबकरिब निश्चित भएको छ । अहिलेसम्म चलचित्र विकास बोर्डमा दर्ता भएका चलचित्रको संख्याले विगतका वर्षभन्दा यो साल धेरै चलचित्र निर्माण हुने पक्कापक्की जस्तै भएको देखाएको छ ।

तथ्यांकले चलचित्र निर्माणमा वार्षिक रूपमा उत्साहजनक वृद्धि भइरहेको देखाएको छ ।

आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक अथवा साउनदेखि कात्तिकसम्म ७० चलचित्रले निर्माण इजाजत लिएका छन् ।

गत वर्ष चार महिनामा ५१ वटा र त्यसअघिको वर्ष ४७ वटा चलचित्रले निर्माणका लागि इजाजत लिएका थिए ।

पछिल्लो पाँच वर्षमा २०७८/७९मा ३६, २०७९/८० मा ४७, २०८०/८१ मा ४७, २०८१/८२ मा ५१ र २०८२/८३ मा वटा ७० चलचित्रले निर्माणका लागि इजाजत लिएको पाइएको छ ।

यो तथ्यांकले नेपाली चलचित्र उद्योगमा नयाँ उत्साह, सम्भावना र सिर्जनशीलताको बढ्दो गतिलाई देखाएको बोर्डले बताएको छ । गत वर्ष ‘पूर्ण बहादुरको सारङ्गी’लगायत चलचित्रको बक्सअफिस तथ्यांकले सिनेमा निर्माणमा धेरैलाई आकर्सित गरेको छ ।