नेपालको पहिलो मौन चलचित्र कुन हो ?

काठमाडौं । ६ दशकभन्दा लामो नेपाली चलचित्र उद्योगमा चलचित्रसँग सम्बन्धित थुप्रै रेकर्ड छन् । थुप्रै रेकर्डहरूमध्ये एउटा रेकर्ड चलचित्र ‘ढुङ्गे युग’सँग पनि छ ।

‘ढुङ्गे युग’ नेपालको पहिलो मौन चलचित्र हो । अथवा यो चलचित्रमा सम्बाद छैन । सम्बाद बिनाको चलचित्र हो यो । यसका कुनै पनि कलाकारले पूरै सिनेमा अवधीभर बोल्दैनन् ।

श्री मिडिया सर्च एन्ड मुभी मेकर्स प्रा.लिद्वारा निर्मित ‘ढुङ्गे युग’लाई माधव राज खरेलले निर्देशन गरेका थिए । ‘ढुङ्गे युग’को प्रदर्शन सन् २००९ मा भएको थियो ।

‘ढुङ्गे युग’ले मौन शैलीमा कथा प्रस्तुत गरेर नेपाली सिनेमा क्षेत्रमा नयाँ प्रयोगको सुरुवात गरेको थियो । ‘ढुङ्गे युग’ चलचित्रले मानव सभ्यताको आदिकालीन ढुङ्गे युगको परिवेश र जीवनशैली चित्रण गरेको थियो ।

यो चलचित्रमा आवाजले नभएर भावभङ्गी, फेसियल एक्सप्रेसन र दृश्यमार्फत कथा प्रस्तुत गरिएको थियो । हुन त चलचित्र भिजुअल ल्याङग्वेज हो । भिजुुअलका माध्यमबाट धेरै कुरा भन्न सकिन्छ । राम्रो निर्देशकले दृश्यभाषा बाट धेरै कुरा भन्न सक्छ ।

निर्देशक माधव राज खरेलले चलचित्र ‘मृत्यु कोष’, ‘बिरानो माया’, ‘ढुङ्गे युग–२’, ‘कुइनेटो’, ‘दुर्गामाण्डौ’,‘ हेवे करैते भोर’, ‘गढीमाई’, ‘चिट्ठी’ लगायत चलचित्र निर्देशन गरेका छन् ।