‘पूर्ण बहादुरको सारङ्गी’जस्तै बलिउडका दुई सिनेमाको चेपुवामा ‘अभिमन्यु’, इतिहास दोहोरिएला ?

काठमाडौं । गत वर्ष ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिज हुँदा सँगै बलिउडबाट फँडा फिँजाएर आइपुगेका थिए, ‘भूलभुलैया–३’ र ‘सिंघम रिटर्न्स अगेन’ ।

कार्तिक आर्यन र तृप्ति डिम्रीको ‘भूलभुलैया–३’ र अजय देवगन र रोहित शेट्टीको ‘सिंघम रिटर्न्स अगेन’ले फँडा फिजाउँदा ‘पूर्ण बहादुरको सारङ्गी’ हलमा चेपिएको थियो ।

सुरुका तीन दिन दर्शक नपाएर छटपटिको अवस्थामा पुगेको ‘पूर्ण बहादुरको सारङ्गी’ले विस्तारै फँडा फिजाउन थाल्यो । जसै ‘पूर्ण बहादुरको सारङ्गी’ले फँडा फिजाउन थाल्यो, अवस्था ठिक उल्टियो ।

‘भूलभुलैया–३’ र ‘सिंघम रिटर्न्स अगेन’ नेपाली सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ले फँडा फिजाउँदा हलमा चेपिए । कार्तिक आर्यन र अजय देवगन लगबग नेपालमा निरीह प्रायः हुँदा, विजय बरालले जुँगामा ताउ लगाए ।

त्यही चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ बनाउने निर्माता विनोद पौडेलको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ अहिले हलमा छ । अहिले पनि अवस्था उस्तै छ । अथवा उनको चलचित्र ‘अभिमन्यु’सँग भिड्न बलिउडबाट ‘धुरन्धर’ र ‘अखण्डा’ नेपाल आइपुगेका छन् । तर, ‘अखण्डा’ सबै हलकोे कमिङ सुनमा देखिएको छैन ।

गत वर्ष बलिउडका नामी सिनेमालाई सहजै पाखा लगाएका निर्माता विनोद पौडेलको यो वर्षको चलचित्रले चाहिँ के गर्ला ? यो अहिलेको पर्ख र हेरको अवस्था हो ।

सधैँ सबै सिनेमा उत्तिकै बलिया हुँदैनन् र बलिया भएर पनि सधैँ चल्छन् नै भन्ने हुँदैन । तर, निर्माणपक्षमा देखिएको गजबको आत्मविश्वासले भने यो चलचित्र पनि दर्शकले मन पराउँछन् भन्ने अनुमान लगाउन सकिन्छ ।

दर्शकले बिहीबार दिएको प्रतिक्रिया र त्यसअघि प्रिमियरमा पाएको फिडब्याकले पनि निर्माण टिम सिनेमाले दर्शकको मन जित्नेमा शतप्रतिसत ढुक्क छ । गत वर्षकै इतिहास निर्माता पौडेलले दोहो¥याउने छन् अथवा यसपटक आफैँ पाखा लाग्न्पर्ने हो त्यो भने अबको केही दिनमै थाहा हुनेछ ।

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ बिहीबारबाट प्रदर्शनमा आएको छ । चलचित्रमा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन् ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ । चलचित्रमा कामेश्वर र लक्ष्मीसँगै किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी बर्देवा, प्रकाश दाहाल, शिशिर बाङदेललगायत कलाकारको अभिनय छ । अतिथि भूमिकामा रेखा थापा पनि रहेकी छन् ।

‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् ।

शरद महतो डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरे सम्पादक रहेका छन् ।