आखिर बयानबाजीले के पाइन्छ कला र एलिना ?

काठमाडौं । कलाकारको काम कला बेच्ने हो तर कहिलेकाहीँ भइदिन्छ के भने कलाकार आफ्नो कलाले भन्दा पनि हुनुपर्ने विषयका कारण समाचारमा आउँछन् ।

पछिल्लो समय गायिका कला लम्साल र एलिना चौहान आफ्नो गीतसंगीतका कारण नभई व्यक्तिगत बयानबाजीले समाचार बनिरहेका छन् । जुन विषयमा उनीहरूका समाचार आइरहेका छन् तिनले उनीहरूको गरिमा बढाएको छैन बरु घटाएको छ ।

आफ्नो सिक्री लगाएर आफ्नै कुरा काट्दै अन्तरवार्ता दिएको भन्दै गायिका एलिनामाथि सांकेतिक रूपमा कलाले एक अन्तरवार्तामा बोलेपछि सो विवाद यतिबेला चुलिएको छ ।

दुवैले एकअर्कामाथि आरोपप्रत्यारोप लगाइरहेका छन् । सिक्री चोरेको किसिमले कलाको अभिव्यक्ति आएको एलिनाको बुझाइपछि उनले सोको जवाफमा आफूसँग कलाको सिक्री होइन किड्नी नै किन्न सक्ने हैसियत रहेको जवाफ फर्काइन । त्यस प्रकारको अन्तरवार्ताबाट अपमानित महशुस गरेकी कलाले एलिनाको भनाइको कडा प्रतिवाद गर्दै अमेरिकामा सांगीतक यात्राका क्रममा राख्नलाई दिएको सिक्री फिर्ता लिन निक्कै गाह्रो परेको र बल्लतल्ल एक बहिनीमार्फत सिक्री फिर्ता लिएको बताइन् । उनको यो भनाइमा एलिनाको यो सामाग्री तयारपार्दासम्म कुनै प्रतिक्रिया आएको छैन ।

उनीहरूको यो विवादलाई नेपाली कलाक्षेत्रले भने प्रिय मानेको छैन । यो विषय मिडियाबाजीको नभई आपसमा बसेर सहजै सुल्झाउन सकिने विषय भएको कला र कलाकारप्रेमीहरुको भनाइ छ ।

यस प्रकारको दन्तबझानले उनीहरूलाई उचाइ दिने काम गरेको छैन । उनीहरूको व्यक्तित्वको ओझलाई कम गरेको छ ।

अहिले यो भाइरल युगमा कुन कुरा कहाँ कसरी बोल्ने भन्नेमा सजग हुनुपर्ने समय छ । यस्तोमा सार्वजनिक परिचय बोकेका कलाकार यसमा झन् चनाखो हुनुपर्नेमा उल्टै सार्वजनिक बाझाबाझमा उत्रेका छन् ।

केही समय अगाडी नेपाली फिल्म क्षेत्रमा ‘बलिदान’ र ‘माइतीघर’ रिलिजका समयमा निर्माता सन्तोष सेन, रोहित अधिकारी र अर्का निर्माता तथा कलाकार दीपकराज गिरीहरू यस्तै प्रकारले बयानबाजीमा उत्रेका थिए जुन कुराको त्यतिबेला पनि आफ्नो गरिमा घटाएर उनीहरू राम्रो नगरेको चर्चा चलेको थियो । अहिले कला र एलिनाको विषयले फेरि त्यही कुराको पुनरावृत्ति भएको छ ।

यसमा फाइदा कसैलाई छैन । होला अन्तरवार्ता प्रसारण भएका डिजिटल माध्यमले आफ्नो आम्दानी यसबाट केही मात्रमा थपे होलान् तर एउटा कलाकारको व्यक्तित्व र छविलाई भने धमिल्याउने काम गरेको छ ।

कलाकारले कुन कुरा सार्वजनिक रूपमा बोल्ने र कुन नबोल्ने भन्नेमा ध्यान दिनु अत्यन्त जरुरी छ । अन्यथा यसले दिने परिणाम कसैको हितमा हुने छैन। तसर्थ एलिना र कलालाई हाम्रो सुझाव मनमुटाब आपसैमै सुल्झाउनुहोस् मिडियाबाजी नगर्नुहोस्। आगे तपाईँहरूको मर्जी ।