बलिउडमा २०२६ को सबैभन्दा ठूलो ‘क्ल्यास’: सलमान र आलिया भिड्दै
एजेन्सी । सन् २०२६ को अप्रिल १७ बलिउड बक्स अफिसका लागि निकै रोमाञ्चक हुने देखिएको छ । यो मितिमा बलिउडका दुई ठूला स्टार कलाकार बक्सअफिसमा भिड्ने भएका हुन् ।
अभिनेता सलमान खान र अभिनेत्री आलिया भट्टका दुई चलचित्रहरू एकैसाथ प्रदर्शनमा आउने भएका छन् । यो बक्स अफिस भिडन्तलाई बलिउड सिनेमाका दर्शकहरूले ‘देशभक्ति भर्सेस जासुसी एक्सन’ को रूपमा विश्लेषण गर्न थालेका छन् ।
सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गल्वान’ सन् २०२० मा लद्दाखको गल्वान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच भएको वास्तविक झडपको पृष्ठभूमिमा आधारित छ ।
यो चलचित्रमा सलमानले एक भारतीय सैनिकको भूमिका निभाएका छन् भने उनीसँगै अभिनेत्री चित्रांगदा सिंह मुख्य भूमिकामा देखिनेछिन् । देशभक्तिले भरिएको यो सिनेमाले दर्शकको भावनालाई छुने र सलमानलाई पुनः एकपटक शक्तिशाली एक्सन अवतारमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
अर्कोतर्फ आलिया भट्ट आफ्नो करियरकै सबैभन्दा चुनौतीपूर्ण मानिएको सिनेमा ‘अल्फा’ मार्फत दर्शकमाझ आउँदैछिन् । यशराज फिल्म्सको ‘स्पाइ युनिभर्स’ अन्तर्गत निर्माण भइरहेको यो चलचित्रमा आलिया एक जासुसको भूमिकामा देखिनेछिन् । ‘टाइगर’, ‘वार’ र ‘पठान’ जस्ता हिट फिल्महरूको विरासत बोकेको यो युनिभर्समा आलियाको प्रवेशले फिल्मप्रति थप कौतुहलता जगाएको छ । यस फिल्ममा आलियाको ‘नेभर सिन बिफोर’ (अहिलेसम्म नदेखिएको) एक्सन अवतार देख्न पाइनेछ ।
१७ अप्रिल २०२६ लाई अहिले नै बलिउडमा ‘क्ल्यास डे’ को रूपमा हेरिन थालिएको छ । दुवै स्टारको आ–आफ्नै फ्यान फलोइङ छ ।
‘मास’ दर्शकमा सलमानको पकड बलियो छ । आलिया भट्ट: युवा पुस्तामा आलियाको क्रेज लोभलाग्दो छ ।
एउटै मितिमा दुई ठूला बजेटका फिल्म रिलिज हुँदा स्क्रिन संख्या बाँडफाँड हुने र व्यापारमा केही प्रभाव पर्न सक्ने देखिए पनि बलिउड बजारका लागि यो स्वस्थ प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
अब हेर्न बाँकी छ, यो भिडन्तमा कसले बाजी मार्छ । सलमानको वीरताको कथाले वा आलियाको जासुसी रोमान्चले ?



