पर्दाका ‘हिट’ जोडी अब वास्तविक जीवनमै जोडिँदै, उदयपुरमा लिँदैछन् विजय र रश्मिका सातवटा प्रतिज्ञा
काठमाडौं । दक्षिण भारतीय चलचित्र क्षेत्र साउथ सिनेमाका सबैभन्दा चर्चित र प्रशंसित जोडी विजय देवरकोन्डा र रश्मिका मन्डाना चाँडै नै विवाह बन्धनमा बाँधिने खबरले भारतीय मिडियामा निकै चर्चा पाएको छ । लामो समयदेखि प्रेम सम्बन्धमा रहेको भनिएको यो जोडीले अब आफ्नो सम्बन्धलाई नयाँ नाम दिने तयारी गरेको बुझिएको छ ।
विभिन्न भारतीय सञ्चार माध्यमहरूका अनुसार विजय र रश्मिकाले सन् २०२६ को फेब्रुअरी २६ मा विवाह गर्ने निर्णय गरेका छन् । उनीहरुले विवाहका लागि राजस्थानको उदयपुरस्थित एक ऐतिहासिक तथा शाही ‘हेरिटेज प्यालेस’ छनौट गरेका छन् ।
विजय र रश्मिकाले यो विवाहलाई निकै निजी र आत्मीय बनाउने योजना रहेको बताइएको छ ।
खबरका अनुसार यो जोडीले सन् २०२५ अक्टोबर ३ (दशैंको समयमा) हैदराबादमा एक अत्यन्तै निजी समारोहका बीच इन्गेजमेन्ट गरिसकेका छन् । उक्त समारोहमा परिवारका सदस्य र केही निकै नजिकका साथीहरू मात्र सहभागी थिए । यद्यपि, दुवै स्टारले यसलाई आधिकारिक रूपमा सार्वजनिक भने गरेका छैनन् । इन्गेजमेन्टपछि विभिन्न सार्वजनिक कार्यक्रमहरूमा उनीहरूले लगाएको औंठीले फ्यानहरूमाझ झन् कौतूहलता बढाएको थियो ।
विजय र रश्मिका आफ्नो व्यक्तिगत जीवनलाई मिडिया र लाइमलाइटबाट टाढा राख्न रुचाउँछन् । त्यसैले उदयपुरको विवाह समारोहमा सीमित पाहुनाहरूलाई मात्र निमन्त्रणा गरेका छन् । विवाहपछि उनीहरूले बलिउड र दक्षिण भारतीय फिल्मका साथीहरू र शुभचिन्तकहरूका लागि हैदराबादमा एक भव्य ‘वेडिङ रिसेप्सन’ आयोजना गर्न सक्ने सम्भावना रहेको छ ।
सन् २०१८ को सुपरहिट चलचित्र ‘गीता गोविन्दम’ बाट यो जोडीको केमेस्ट्री पहिलो पटक दर्शकले रुचाएका थिए । त्यसपछि सन् २०१९ मा ‘डियर कमरेड’ मा उनीहरूको अभिनयले यस जोडीलाई झन् बलियो बनायो । फिल्मको सेटबाट सुरु भएको उनीहरूको मित्रता बिस्तारै प्रेममा परिणत भएको चर्चा चल्दै आएको छ ।
विवाहको मिति र स्थानको विवरण बाहिर आए पनि विजय र रश्मिकाको तर्फबाट कुनै पनि आधिकारिक पुष्टि हुन भने बाँकी छ । यतिबेला रश्मिका आफ्नो फिल्म ‘मैसा’ को रिलिजको पर्खाइ र अन्य प्रोजेक्टमा व्यस्त छिन् भने विजय पनि आफ्ना नयाँ फिल्महरूको छायांकनमा व्यस्त छन् ।
साउथका यी दुई सुपरस्टारको विवाहको खबरले यतिबेला सामाजिक सञ्जालमा ठूलो चर्चा पाइरहेको छ र फ्यानहरू यो जोडीलाई वैवाहिक बन्धनमा बाँधिएको हेर्न आतुर छन् ।



