किन रोकियो थलापति विजयको फिल्म ‘जना नायकन’को प्रदर्शन ?
काठमाडौं । दक्षिण भारतीय अर्थात् तमिल चलचित्रका सुपरस्टार थलापति विजय अभिनीत फिल्म ‘जना नायकन’ को प्रदर्शन अन्तिम समयमा आएर स्थगित गरिएको छ । ठूलो बजेटमा निर्माण भएको यस फिल्मका निर्माताहरूले बुधबार राति एक आधिकारिक विज्ञप्ति जारी गर्दै निर्धारित मितिमा फिल्म प्रदर्शन नहुने जानकारी दिएका हुन् ।
यसअघि यो फिल्म जनवरी ९ अर्थात् भोलिबाट शुक्रबार देखि विश्वभरका सिनेमाघरमा प्रदर्शन हुने तय भएको थियो ।
फिल्मको प्रदर्शन रोकिनुको मुख्य कारण सेन्सर बोर्डसँगको कानुनी विवाद रहेको बताइएको छ । मद्रास उच्च अदालतमा ‘जना नायकन’ लाई ‘यू/ए १६+’ वर्गअन्तर्गत सेन्सर प्रमाणपत्र दिन निर्देशन माग गर्दै एउटा निवेदन दर्ता गरिएको थियो ।
उक्त निवेदनमाथि सुनुवाइ गर्दै अदालतले आफ्नो आदेश सुरक्षित राखेको छ । अदालतको फैसला आउन ढिलाइ हुने भएपछि कानुनी जटिलताका कारण निर्माण पक्षले प्रदर्शन मिति सार्ने निर्णय गरेको हो । अदालतको सुनुवाइ सकिएको केही घण्टामै फिल्म स्थगितको घोषणा आएको थियो ।
फिल्मको निर्माण कम्पनी ‘केभीएन प्रोडक्सन्स’ ले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै फिल्म स्थगित गर्नुपरेकोमा दुःख व्यक्त गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “हामीले दर्शकहरूको उत्सुकता, भावना र यो फिल्मप्रतिको ठूलो अपेक्षालाई राम्रोसँग बुझेका छौँ । तर, हाम्रो नियन्त्रण बाहिरको परिस्थितिका कारण जनवरी ९ मा हुने भनिएको ‘जना नायकन’ को प्रदर्शन स्थगित गर्नुपरेको छ । यो निर्णय लिनु हाम्रा लागि सजिलो थिएन, तर वर्तमान अवस्थामा यो आवश्यक थियो ।”
निर्माण पक्षले नयाँ प्रदर्शन मिति छिट्टै सार्वजनिक गर्ने भन्दै आफ्ना दर्शक र सरोकारवालाहरूलाई धैर्य धारण गरिदिन र निरन्तर समर्थन जारी राख्न आग्रह गरेको छ ।
यो फिल्म विजयको अभिनय करिअरको अन्तिम फिल्म हुने घोषणा पहिले नै भइसकेकाले पनि यसप्रति निकै चासो र आकर्षण रहेको छ । तमिलनाडुको राजनीतिमा सक्रिय भइसकेका विजयले आफ्नै राजनीतिक दल ‘तमिलगा वेत्री कझगम’ (TVK) स्थापना गरिसकेका छन् ।
उनले आगामी मार्च–अप्रिलमा हुने तमिलनाडु प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । राजनीतिमा पूर्णकालीन समय दिने उद्देश्यले उनले यो फिल्मपछि अभिनय यात्रालाई पूर्णविराम लगाउने तयारी गरेका हुन् । यही कारणले गर्दा पनि फ्यानहरूका लागि ‘जना नायकन’ भावनात्मक रूपमा निकै महत्त्वपूर्ण मानिएको छ ।
यस फिल्ममा थलापति विजयसँगै पूजा हेगडे, बबी देओल, प्रकाश राज, प्रियामणि, नारायण, ममिता बैजुलगायतको अभिनय छ।



