आलोचनाको बाबजुद प्रभासको फिल्मले रच्यो इतिहास, ‘धुरन्धर’ को रेकर्ड ध्वस्त
काठमाडौं । दक्षिण भारतीय सुपरस्टार प्रभासले पुनः एकपटक बक्स अफिसमा आफ्नो वर्चस्व प्रमाणित गरेका छन् । सामाजिक सञ्जालमा केही नकारात्मक प्रतिक्रिया र ट्रोलको सामना गरे तापनि उनको नयाँ फिल्म ‘द राजा साब’ ले पहिलो दिनमै इतिहास रच्दै विश्वव्यापी बक्स अफिसमा सुनामी ल्याएको छ ।
जनवरी ९ मा सिनेमाघरहरूमा प्रदर्शनमा आएको यो हरर-कमेडी फिल्मले यस वर्षको सबैभन्दा चर्चित फिल्म भनिएको ‘धुरन्धर’ को रेकर्डलाई निकै पछि पारेको छ ।
प्रभासको क्रेजका कारण ‘द राजा साब’ ले पहिलो दिनमै विश्वव्यापी रूपमा १०० करोड भारतीय रुपयाँको सङ्कलन गर्दै ऐतिहासिक सुरुवात गरेको छ । फिल्मले भारतमा मात्रै कुल ७४.९० करोड भारतीय रुपयाँ ग्रस कमाएको छ भने विश्व बजारबाट २६ करोड भारतीय रुपयाँ संकलन गरेको छ ।
घरेलु बक्स अफिसको विवरण अनुसार फिल्मले नेट ५४.१५ करोड भारतीय रुपयाँ र सशुल्क पूर्वावलोकन मार्फत ९.१५ करोड गरी कुल ६३.३ करोड भारतीय रुपयाँ नेट व्यापार गरेको छ ।
‘धुरन्धर’ को रेकर्ड ध्वस्त
यस वर्षको सबैभन्दा धेरै कमाउने र चर्चामा रहेको फिल्म ‘धुरन्धर’ को ओपनिङलाई ‘द राजा साब’ ले निकै ठूलो अन्तरले उछिनेको छ । ‘धुरन्धर’ ले आफ्नो ओपनिङ दिनमा भारतमा २८ करोड र विश्वव्यापी रूपमा कुल ३२ करोड भारतीय रुपयाँ मात्र कमाएको थियो । प्रभासको फिल्मले यो आँकडालाई पहिलो दिनमै तीन गुणाले पछि पारेको छ ।
प्रायः एक्सन र गम्भीर भूमिकामा देखिने प्रभास यस पटक फरक शैलीमा प्रस्तुत भएका छन् । मारुतीद्वारा लिखित र निर्देशित यस फिल्ममा प्रभासले हरर र कमेडीको मिश्रण पस्किएका छन् । सामाजिक सञ्जालमा फिल्मलाई लिएर मिश्रित प्रतिक्रिया देखिए पनि हलमा दर्शकहरूको उपस्थिति भने लोभलाग्दो छ ।
पिपल मिडिया फ्याक्ट्रीद्वारा निर्मित यस फिल्ममा प्रभासका साथै सञ्जय दत्त, निधि अग्रवाल, बोमन इरानी र मालविका मोहननको मुख्य भूमिका रहेको छ । रहस्य, हास्य र डरको समिश्रण रहेको यो फिल्मले आगामी दिनमा थप नयाँ रेकर्डहरू राख्ने अनुमान गरिएको छ ।



