काकु ब्लकबस्टर, जिग्री औसत, पाँडे कमजोर अब बल्छीले के गर्लान् ?

काठमाडौं । माघे संक्रान्तिको बिदाको अवसर पारेर चलचित्र ‘गोबर गणेश’ रिलिज हुँदा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) दबाबमा छन् । सँगै रिलिज भएका अरु दुई चलचित्र ‘भाईरल गोर्खे’ र ‘मिरमिरे’को चेपुवामा परिने हो कि भन्नेमा बल्छी धुर्वे तनावमा छन् ।

यी तीन चलचित्रमध्ये कुनले दर्शकको माया सबैभन्दा धेरै पाउनेछ भन्ने तनाव त बल्छीलाई छ नै यो भन्दा पनि धेरै उनको तुलना दीपक आचार्य (काकु), कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)सँग हुनेछ ।

किनकी यी तीन हास्य टेली चलचित्रका कलाकारले निर्देशन गरेका चलचित्र रिलिज भइसकेका छन् । त्यसैले अर्का हास्य कलाकार बल्छीको सिनेमाले कस्तो प्रतिक्रिया पाउला भन्नेमा धेरैको चासो छ ।

दीपकको चलचित्र ‘परान’ ब्लकबस्टर भइसकेको छ । कुमारको चलचित्र ‘लाज शरणम्’ औसत रह्यो । अर्जुनको चलचित्र ‘झरी पछिको इन्द्रेणी’ बक्सअफिसमा निकै कमजोर सावित भयो । गसिपको भाषा प्रयोग गर्ने हो भने अर्जुनको चलचित्र फ्ल्प नै भयो ।

काकुको चलचित्र ‘परान’ले पौने १८ करोड रुपैयाँ ग्रसकलेक्सन गरिसकेको । जिग्रीको चलचित्र ‘लाज शरणम्’ले करिब साढे ४ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । पाँडेको चलचित्र ‘झरी पछिको इन्द्रेणी’ले सवा करोडको छेउछाउ पुग्ने प्रयास गरिरहेको छ ।

यी तीनै जना हास्य कलाकार सानो पर्दा हुँदै चलचित्रमा आइपुगेका थिए । फिचर फिल्म निर्देशनमा होमिएर आफ्नो निर्देशन क्षमता परीक्षण गरेका थिए । अन्ततः काकु, जिग्री र पाँडेको बाटोमा बल्छी पनि आइपुगेका छन् । उनी पनि हास्य कलाकार हुँदै कथानक चलचित्र निर्देशनमा आइपुगेका हुन् ।

त्यसैले बल्छीको चलचित्र सँगै रिलिज भएको ‘मिरमिरे’ र ‘भाईरल गोर्खे’भन्दा पनि रिलिज भइसकेका ‘परान’, झरीपछिको इन्द्रेणी’ र ‘लाज शरणम्’सँग तुलना भइरहेको छ । काकु, जिग्री र पाँडेसँग उनको तुलना भइरहेको छ ।

काकु, जिग्री र पाँडेमध्ये कसको कित्तामा बल्छी पुग्ने हुन् भनेर सबैले उनको सिनेमा ‘गोबर गणेश’मा आँखा लगाइरहेका छन् ।