‘धुरन्धर’ ले ५१ औँ दिनमा कति कमाई गर्‍यो

एजेन्सी । बलिउड फिल्म ‘धुरन्धर’ले भारतीय बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गरेको छ ।

गत डिसेम्बर ५ मा प्रदर्शनमा आएको यो फिल्मले आज बक्स अफिसमा ५१ औँ दिन पूरा गर्दै एउटा नयाँ कीर्तिमान कायम गरेको छ । यो कुनै पनि फिल्मको लागि ठूलो उपलब्धि हो ।

रणवीर सिंह, अक्षय खन्ना, आर. माधवन, अर्जुन रामपाल र सारा अर्जुन जस्ता मल्टी स्टारकास्ट कलाकारहरू रहेको एक्सन-थ्रिलर ‘धुरन्धर’ ले बक्स अफिसमा ५० दिनको माइलस्टोन पार गर्दा पनि आफ्नो वर्चस्व गुमाएको छैन ।

सन् २०१७ पछि सर्वाधिक कमाउने हिन्दी फिल्मको रेकर्ड सम्हाल्न बलिउडलाई गाह्रो परेको थियो । यसअघि यो रेकर्ड शाहरूख खानको ‘जवान’को नाममा थियो ।

‘जवान’ पछि क्रमश सर्वाधिक कमाउने हिन्दी फिल्ममा श्रद्धा कपुर र राजकुमार रावको ‘स्त्री २’, रणवीर कपुरको ‘एनिमल’ र ‘पठान’ को नाममा छ । तर, ‘धुरन्धर’ ले यी सबै फिल्मलाई ठूलो अन्तरले पछाडि पार्दै पहिलो हिन्दी फिल्म बनेको छ ।

प्यान–इन्डिया फिल्ममा ‘बाहुबली २ : द कन्क्लुजन’को हिन्दी भर्सन थियो । तर, एक वर्ष नवित्दै ‘पुष्पा २’ले ‘जवान’को रेकर्ड खोस्यो । अब फेरि ‘धुरन्धर’ले बलिउडलाई शीर्ष स्थानमा पुर्‍याएको छ । यो फिल्म भारतीय इतिहासकै पहिलो १००० करोड ग्रस कमाउने हिन्दी फिल्म बन्न अब मात्र ३ करोड टाढा छ ।

प्रदर्शनको ५० औँ दिनमा फिल्मले करिब ५९ लाख भारतीय रुपैयाँ सकंलन गरेको छ । यससँगै भारतमा फिल्मको कुल नेट कलेक्सन ८३१.०९ करोड पुगेको छ । भारतीय बक्स अफिसमा यसको कुल ‘ग्रस’ कलेक्सन अहिले ९९७ करोड पुगिसकेको छ । यो सप्ताहन्त अर्थात् शनिबार, आइतबार र जनवरी २६ को बिदाको समयमा १००० करोड रुपैयाँ नाघ्ने अपेक्षा गरिएको छ ।

‘धुरन्धर’ले बक्स अफिसमा २८ करोडको कलेक्शनका साथ ओपनिङ सुरुवात गरेको थियो । यसपछि फिल्मले पहिलो हप्तामा २०७.२५ करोड कमाएको थियो । दोस्रो हप्तामा फिल्मको कमाई अझ बढेर २५३.२५ करोड पुगेको थियो ।

यो फिल्मले तेस्रो हप्तामा फिल्मले १७२ करोड कमाएको थियो भने चौथो हप्तामा १०६.५० करोड कमाएको थियो ।

पाँचौं हप्तामा फिल्मको कमाई १०० करोडभन्दा कम भएर ५१.२५ करोड पुगेको थियो । छैटौं हप्तामा फिल्मले २६.३५ करोड कमाएको थियो र सातौं हप्तामा यसले १३.९० करोड कमाएको थियो ।

‘धुरन्धर’ को ७ हप्ताको कलेक्सन
पहिलो हप्ता – २०७ करोड
दोस्रो हप्ता – २५२.२५ करोड
तेस्रो हप्ता – १७२ करोड
चौथो हप्ता – १०६.५ करोड
पाँचौं हप्ता – ५१ करोड
छैटौं हप्ता – २६.३५ करोड
सातौं हप्ता – १३.९ करोड

आफ्नो प्रदर्शनको आठौँ हप्तामा प्रवेश गर्दा फिल्मको स्क्रिन संख्यामा भने उल्लेख्य गिरावट आएको छ । नयाँ फिल्महरूको चापका कारण ‘धुरन्धर’का ९० प्रतिशत शोहरू हटाइएका छन् । शोहरू निकै कम हुँदा ८ औँ शुक्रबारको कमाई ५५ लाखमा खुम्चिएको छ, जुन फिल्मको अहिलेसम्मकै न्यून दैनिक कमाई हो । यद्यपि, सिमित शोहरूका बावजुद दर्शकको उपस्थिति अझै उत्साहजनक छ ।

विश्वव्यापी रूपमा फिल्मले झन् ठूलो सफलता पाएको छ । ५० दिनको अवधिमा यसको ग्लोबल कलेक्सन १२८९ करोड पुगेको छ, जसले गर्दा यो रणवीर सिंहको करियरकै सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।

आदित्य धर निर्देशित “धुरंधर” एक जासूसी-थ्रिलर हो । सत्य घटनाबाट प्रेरित यो फिल्मले रचनात्मक स्वतन्त्रता लिँदै जासूसी दुनियाँको एउटा रोमाञ्चक कथा प्रस्तुत गरेको छ ।

‘धुरन्धर २’ र ‘टक्सिक’ को महाभिडन्त

‘धुरन्धर’को सफलतासँगै निर्माताहरूले ‘धुरन्धर २’ को तयारीलाई पनि तीव्रता दिएका छन् । आगामी मार्च १९ मा रिलिज हुने तय भएको यो सिक्वेलले दक्षिण भारतीय सुपरस्टार यशको फिल्म ‘टक्सिक’ सँग बक्स अफिसमा प्रतिस्पर्धा गर्नेछ । ठूला फिल्महरू एकैसाथ आउने भएपछि दर्शकमाझ अहिलेदेखि नै उत्साह छाएको छ ।