‘मालती मंगले’को पहिलो झलकसँगै प्रदर्शन मिति घोषणा
काठमाडौं । चलचित्र ‘मालती मंगले’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले शनिबार भ्यालेनटाइन डे (प्रणय दिवस)को अवसर पारेर सिनेमाको आधिकारिक पोस्टर सार्वजनिक गर्दै आगामी नयाँ वर्षको वैशाख २५ गतेलाई प्रदर्शन मिति तय गरेको हो ।
चर्चित गायक रामकृष्ण ढकालको निर्माणमा तयार भएको चलचित्र ‘मालती मंगले’को सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य दुई पात्र विजय बराल र वर्षा राउतलाई केन्द्रमा राखिएको छ ।
पोस्टरले चलचित्रको कथावस्तु ग्रामीण परिवेश र आत्मीय प्रेमकथामा आधारित रहेको सङ्केत गर्छ । रातो रङ्गको ग्रामीण पहिरनमा सजिएकी वर्षाको काखमा विजयले टाउको राखेर सुतिरहेको दृश्यले उनीहरूबीचको प्रगाढ प्रेम र ‘केमेस्ट्री’लाई आकर्षक ढङ्गले प्रस्तुत गरेको छ ।
विजय बस्यालले डिजाइन गरेको यो पोस्टरले चलचित्र ‘अर्ग्यानिक’ र मौलिक नेपाली कथामा बनेको आभास दिलाउँछ ।
यो चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन् । निर्देशक पाण्डेयका अनुसार ‘मालती मंगले’ एक विशुद्ध नेपाली पारिवारिक प्रेमकथा हो । उनी भन्छन्, “हामीले यस्तो चलचित्र बनाएका छौँ जुन परिवारका सबै सदस्य, सानो बच्चादेखि वृद्धसम्मले एकसाथ बसेर हेर्न सक्छन्। यसले हाम्रो समाजको एउटा यथार्थ र बलियो पाटोलाई उजागर गर्नेछ।”
चलचित्रको कथा निर्देशक पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद लेखनमा उनलाई संयोग गुरागाईँले साथ दिएका छन् ।
चलचित्रमा विजय र वर्षा राउतका अलावा मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती लगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ ।
रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यस चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् ।
चलचित्रमा बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरुङ र स्वीकृति बस्नेतले सह–निर्माताको रूपमा लगानी गरेका छन् ।
महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन र कृष्ण भण्डारीको रङ्ग संयोजन रहेको यस चलचित्रको ध्वनि मिश्रण डिकेश खड्गीले गरेका हुन् ।
यो चलचित्रलाई ओएसआर डिजिटलले डिजिटल अधिकार खरिद गरेको छ भने हलहरूमा आरआर फिल्म्सले वितरण गर्ने जिम्मेवारी लिएको छ ।




