चलचित्र नचलेपछि फेस सेभिङ गर्न धमाधम प्रदर्शन स्थगन गर्दै मेकर
काठमाडौं । यो वर्ष अपवाद बाहेक चलचित्र चलेका छैनन्, भन्दा पनि हुन्छ । नामै लिने हो भने ‘ऊनको स्वेटर’, ‘जेरी अन टप’, ‘परान’ र ‘आ बाट आमा’ बाहेकका चलचित्रको कमाई उल्लेख गर्न लायक छैन ।
‘बलिदान’, ‘जारी–२’लगायत केही चलचित्रको बक्सअफिसमा राम्रै तथ्यांक देखिए पनि लगानी, हाइप र ब्रान्ड हेर्ने हो भने यी चलचित्र घाटामै छन् । बाँकी अधिकांश चलचित्र पनि घाटामै छन् ।
चलचित्र लगातार रिलिज हुने तर बक्सअफिसमा कमजोर हुने क्रमले बढावा पाइरहेको छ । अपेक्षा गरेका मेकर र कलाकारका चलचित्र नै घाटामा गइरहेका छन् ।
हतार गरेर चलचित्र रिलिज गर्ने तर बक्सअफिसमा कमजोर भएपछि अहिले अर्को नयाँ ट्रेन्ड देखिएको छ । आफ्नो चलचित्र नचलेपछि निर्माणपक्षले प्रदर्शन स्थगित गर्न थालेका छन् । रिलिज गरेर तीन/चार दिन हेर्ने । तर, दर्शक नआएपछि धमाधम प्रदर्शन स्थगन गर्न थालेका छन् । पछिल्लो दुई साताकै उदाहरण हेर्ने हो भने चारवटा चलचित्र प्रदर्शनमा आएर पछि हटे ।
चलचित्र रिलिज भए तर दर्शक नआएपछि विभिन्न कारण देखाउँदै स्थगन गरेको घोषणा गरेका छन् ।
कसैले प्रचार नपुगेको, कसैले चुनावका कारण चलचित्र हेर्ने माहोल नरहेको त कसैले प्राविधिक कारणबस भन्दै विज्ञप्ति जारी गर्दै प्रदर्शन स्थगित गरेका छन् ।
‘द ब्ल्यू लाइट’, ‘श्री बुकुरो’, ‘बिगुल’ र ‘शिवांश’ले रिलिज भएको केही दिनमै चलचित्रको प्रदर्शन स्थगन गरेको घोषणा गरेका छन् । तर, यी चलचित्र हेर्न दर्शक हलसम्म नपुगेपछि बाध्य भएर मेकरले सिनेमा उतार्नु परेको हो ।
उच्च संख्यामा शो पाएका चलचित्र दर्शकको अभावमा हलबाट करिबकरिब उत्रिसकेपछि सेफ ल्यान्डिङ खोज्दै उतारिएको घोषणा गर्न बाध्य भएका हुन् । सकेसम्म दर्शक हलसम्म तान्न प्रयास गर्ने तर दर्शकले चलचित्रप्रति चासो नदेखाएपछि एकएकवटा बाहाना खोज्दै पुनः प्रदर्शन गर्ने भन्दै सेफ ल्यान्डिङ गरिरहेका छन् ।
बढीमा थप एक वा दुई दिनमा सिनेमा घरबाट बाहिरिने अवस्था आएपछि धमाधम विज्ञप्ति जारी गर्दै अर्को सूचना नआउँदासम्मका लागि भन्दै चलचित्र हलबाट बाहिरिएका छन् ।
फागुुन–१ गते रिलिज भएका तीनवटै चलचित्र उतारिएका छन् । ‘श्री बुकुरो’, ‘शिवांश’ र ‘बिगुल’ नै हलबाट उत्रिएका छन् ।
उतारिएका सबै चलचित्रले दर्शकले सिनेमा उत्कृष्ट रहेको प्रतिकृया दिएको, राम्रो कन्टेन्ट भएको र राम्रो कन्टेन्ट मर्न दिन नहुने ठानेर अनुकूल समयमा पुनः प्रदर्शनमा ल्याउने बताएका छन् । यसको प्रष्ट अर्थ, कोही पनि आफ्नो चलचित्र कमजोर रहेको स्वीकार्न तयार छैन । सबैमा आफ्नो चलचित्र बलियो रहेकोमा पूर्ण विश्वास छ ।
आफ्नो चलचित्र राम्रो रहेको थाहा हुँदाहुँदै अरुसँग जुधाएर प्रदर्शन गर्ने, तीन/चारवटा चलचित्रसँग एकै दिन आउनु पर्ने, हतारमा काम राम्रोसँग नसकी र प्रचारप्रसार राम्रोसँग नगरी आउनुपर्ने अनि फुर्सदमा पछुताउने गरेको प्रष्ट देखिएको छ ।
चलचित्र एउटा त्यस्तो बिजनेश हो, जुन एकपटक हल रिलिज भइसकेपछि फेरि हलमा चलाउन कठिन हुन्छ । एक त खर्च पनि थपिन्छ, अर्को रि–रिलिजमा चलचित्रले राम्रो बिजनेश गरेको नजिर कमै छ ।
‘छक्का पञ्जा २’, ‘सानो संसार’, ‘बुलाकी’, ‘विहेपास’ लगायत थुप्रै चलचित्र दोस्रोपटक रिलिज हुँदा चलेनन् । त्यसैले चलचित्र दोस्रोपटक रिलिज गरेर लगानी उठाउन निकै कठिन रहेको यी चलचित्रको उदाहरण नै काफी छ ।
सेफ ल्यान्डिङका लागि अथवा तीन/चार दिनमै चलचित्र उत्रियो भन्ने सन्देश बजारमा नजाओस् भनेर हलबाट बाहिरिएको हो भने बेग्लै कुरा हो, होइन दोस्रोपटक रिलिज गरेर सिनेमा राम्रैसँग चलाउँछु भन्ने सोचेर नै हलबाट उतारिएको हो भने यसमा सफलता पाउन मेकरलाई फलामको चिउरा चपाउनु सरह नहोला भन्न सकिन्न ।
त्यसैले हतारमा, इगोमा र बिदा नै सबथोक हो भनेर चलचित्र रिलिज गर्नुभन्दा पनि सोचविचार गरेर पो चलचित्र रिलिज गर्ने हो कि ? होइन भने फेस सेभिङ गर्न के गर्ने भनेर सोच्नुपर्ने पो हो कि ?
तर, पनि चलचित्रले रि–रिलिजमा सफलता पाउन् । राम्रो बिजनेस होस् । निर्माताको लगानी उठोस्, निर्मातालाई पुनः चलचित्र बनाउने उत्प्रेरणा जाग्ने वातावरण आओस्, हाम्रो शुभकामना !


