के तोडिएला पल शाहको आफ्नै करिअरको रेकर्ड ?

काठमाडौं । अभिनेता पल शाहको ‘स्टारडम’ र बजारमाथिको पकड फेरि एकपटक झल्कीएको छ । यतिबेला बक्सअफिस सुखद देखिएसँगै आफ्नो फ्यान फलोइङ र बक्स अफिसमा आफू किन ‘नम्बर वान’ दौडमा छन् भन्ने पुनः पुष्टी गरेका छन् ।

गत माघ १६ गतेबाट प्रदर्शनमा आएको उनको पछिल्लो चलचित्र ‘आबाट आमा’ ले घरेलु बक्सअफिसमा १० करोड रुपैयाँको सानदार व्यापार गर्दै व्यावसायिक सफलताको नयाँ उचाई छोएको छ ।

यो सफलतासँगै पल शाह आफ्नो करिअरकै सबैभन्दा धेरै कमाउने सिनेमाको रेकर्ड तोड्न मात्र ‘दुई कदम’ (करिब २.६ करोड) टाढा देखिएका छन् ।

चलचित्र विकास बोर्ड अन्तर्गतको सिनेपाः बक्सअफिसमा पछिल्लो तथ्यांक अनुसार बुधबार बेलुका ८:३० बजेसम्म यो चलचित्रले ९ करोड ९९ लाख ६८ हजार ५५१ रुपैयाँ ग्रस कलेक्सन गरिसकेको देखिन्छ ।

प्रदर्शनको तेस्रो सातामा पनि दैनिक ३० लाखमाथिको व्यापार गरिरहेको यो चलचित्रले रात्रीकालिन शोको कमाइलाई गणना गर्दा १० करोडको आँकडा सजिलै पार गरिसकेको छ ।

अब चासो छ, ‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा यस वर्षको धेरै कमाउने सिनेमा र पलको सर्वाधिक कमाइ गर्ने चलचित्र बन्न सक्छ कि सक्दैन?

यस वर्ष १० करोड कमाउने चलचित्रमा ‘आ बाट आमा’सँगै ‘ऊनको स्वीटर’, ‘जेरी अन टप’ र ‘परान’ छन् । जसमध्य ‘परान’ पहिलो नम्बरमा छ । आसन्न प्रतिनिधिसभा निर्वाचन आउन दुई साता बाँकी रहँदा ‘आ बाट आमा’ले चुनावअघिसम्म १२ करोडको आँकडा पार गर्न सक्ने अनुमान गरिएको छ ।

पलको करिअरमा हालसम्मकै सर्वाधिक कमाइ गर्ने चलचित्र हो ‘शत्रु गते’ । जसले १२ करोड ६५ लाख ८२ हजार रुपैयाँको लाइफटाइम कलेक्सन गरेको थियो । यसअघि उनी अभिनित ‘मोहर’ र ‘पूजार सार्की’ लाई ‘आबाट आमा’ ले निकै पछाडि पारिसकेको छ ।

‘आबाट आमा’ लाई पलको करिअरकै ‘नम्बर वान’ सिनेमा बनाउन अब थप २ करोड ६६ लाख रुपैयाँ आवश्यक छ । यो चलचित्रको अहिलेको रफ्तार र दर्शकको आकर्षणलाई हेर्दा यो लक्ष्य असम्भव भने देखिँदैन । यदि सम्भव भए पलले आफ्नै पुरानो रेकर्ड ध्वस्त पार्दै नयाँ इतिहास रच्नेछन् ? यसको जवाफ पाउन आगामी सप्ताहन्तको व्यापार निर्णायक हुनेछ ।

तर, १० करोडको क्लबमा प्रवेश गरेर पल शाहले आफ्नो स्टारडम र बजार पकडलाई पुनः एकपटक प्रमाणित गरिदिएका छन् ।