पल शाह र चन्द्र पन्तले एकअर्कालाई आफ्नो ‘लक्की चार्म’ स्वीकारेपछि…

काठमाडौं । निर्देशक चन्द्र पन्तले ‘आ बाट आमा’बाट आफूलाई निर्देशकमा स्थापित गरे । बक्स अफिसमा ‘आ बाट आमा’ १३ करोड कलेक्सन गर्दै सुपरहिट भएपछि उनले लगत्तै यसको सिक्वेल घोषणा गरे ।

‘आ बाट आमा–२’ अब यही दसैँमा प्रदर्शन हुँदै छ । तर, ‘आ बाट आमा–२’ प्रदर्शन नहुँदै चन्द्र पन्तले अर्को चलचित्र घोषणा गरिसकेका छन् ।

उल्लेखनीय पक्ष चाहिँ के छ भने उनको यो अनटाइटल प्रोजेक्टमा पनि नायक भने पल शाह नै हुनेछन् । ‘आ बाट आमा’मा पल शाह । ‘आ बाट आमा–२’ मा पल शाह । र, यसपछि बन्ने अर्को चलचित्रमा पनि पल शाह आखिर किन चन्द्र पन्तका हरेक चलचित्रमा पल शाह ?

यसको एउटै कारण छ, चन्द्र पन्तका लागि पल लक्की चार्म हुन् । यस अगाडि उनका कुनै पनि चलचित्रले उल्लेखनीय सफलता हात पार्न सकेका थिएनन् । तर, पल मुख्य भूमिकामा रहेको चलचित्र ‘आ बाट आमा’ले उनलाई नेपाली सिनेमा उद्योगमा स्थापित निर्देशकमा परिवर्तन गरिदियो ।

त्यसैले चन्द्र पन्तका लागि पल लक्की चार्म नै हुन् । त्यसैले उनले लगातार पलसँग सहकार्य गर्न चाहिरहेका छन् ।

त्यसो त पलका लागि पनि चन्द्र लक्की चार्म नै हुन् । पलको सिने करियर नै ओरालो लागिरहेका बेला उनकै चलचित्रले पललाई चलचित्र उद्योगमा दह्रो खुट्टा टेकाइदिएको थियो । त्यसैले पलले पनि चन्द्रसँगको सहकार्यलाई निरन्तर अगाडि बढाउन चाहिरहेका छन् ।

दुवैले एकअर्कालाई एकअर्काको लक्की चार्म स्वीकार्दा लगातार सहकार्य सम्भव भइरहेको छ ।

शुक्रबार फिल्म ‘आ बाट आमा २’ को छायांकनको पहिलो चरण (सुटिङ) सकिएलगत्तै निर्देशक पन्तले पललाई अनटाइटल सिनेमामा अनुबन्ध गरेका छन् । यो चलचित्रको नामसँगै अन्य कलाकार तथा प्राविधिकहरूको विवरण भने अझै सार्वजनिक गरिएको छैन ।

“अहिले तेस्रो फिल्मका लागि पल शाहलाई मात्र अनुबन्ध गरेका छौँ । यो हाम्रो तेस्रो सहकार्य हो,” निर्देशक पन्तले भने, “अन्य कलाकार तथा प्राविधिकहरूको नाम भने विस्तारै सार्वजनिक गर्दै जानेछौँ ।”